पर्वत– पहिरोमा पुरिएर मृत्यु भएका पर्वतको कुश्मा नगरपालिका वडा न २ खुर्कोटका रेमबहादुर चालिसेको परिवारलाई भेट्न गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल पिडितको घरमै पुग्नुभएको छ ।
यहि भदौ ५ गते राती घर माथिबाट आएको पहिरोले पुरिएर ७० वर्षिय चालिसेको मृत्यु भएको थियो भने घर पुर्ण रुपमा क्षति पुगेको थियो । सो अवसरमा मन्त्री लम्सालले मृतात्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनलाई भेटेर सान्त्वना प्रदान गर्नुभएको थियो । मन्त्री लम्सालले गण्ठकी प्रदेश सरकारको तर्फवाट रु ५० हजार रुपैया सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले विपद् भनेको जुनसुकै बेला र जुनसुकै ठाउँमा पनि आईपर्ने भएकाले हामी सँधै सचेत र सजग हुनुपर्ने बताउनुभयो । उहाँले चालिसेको निधनले सिङ्गो नेकपा पार्टी र समाजमा ठुलो क्षति पुगेको बताउँदै उहाँको लगाव र क्रियाशिलताको पार्टीले सँधै अनुशरण गर्नुपर्ने बताउनुभयो ।
सो अवसरमा नेकपाका प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाल, प्रहरी नायब उपरिक्षक स्यामु अर्याल, कु.न.पा ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्या, नेकपा नगर कमिटि अध्यक्ष शंकर गिरी, युवा नेता किशोर सापकोटा, शेषराज रेग्मी, मिनराज केसी लगायतले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।