काठमाडौं । जिब्रोलाई हामी अक्सर गाली गर्छौं, स्वादे जिब्रो भन्दै । किनकि हामी जिब्रोको स्वादमा लोभिंदा स्वास्थ्यलाई समेत ख्याल गर्न भुल्छौं । जिब्रोसँगै सम्बन्धित अर्को प्रचलित भनाइ पनि छ, दुई तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस । अर्थात् जथाभावी बोल्नुमा पनि जिब्रोकै दोष ।
यसरी जिब्रोलाई विभिन्न पक्षसँग जोडिन्छ अनि दोष पनि दिइन्छ । तर प्रायजसोः गालीमा प्रयोग हुने जिब्रोको भूमिका मानव स्वास्थ्यका लागि भने महत्वपूर्ण हुने ओम अस्पतालका सिनियर कन्सल्ट्यान्ट डेन्टल सर्जन तथा मेडिकल डाइरेक्टर डा. हरिश जोशी बताउँछन् । उनका अनुसार जिब्रोले स्वाद मात्र नभई रोगको पहिचान, बोल्नमा निखारताजस्ता विभिन्न कार्यमा भूमिका खेल्छ ।
स्वाद पहिचान
जिब्रोमा रहेका विभिन्न ‘टेस्टबड बड’बाट खानाको स्वाद थाहा पाउन सकिने डा. जोशी बताउछन् । उनका अनुसार सामान्यतः गन्ध र स्वाद दुवै संयुक्त रुपमा अनुभूति हुने कारण अधिकांश खानाको स्वादमा नाकबाट लिइने बास्नाको आधारमा जिब्रोले स्वाद महसुस गर्न मद्दत गर्छ । ‘स्वादका लागि जिम्मेवार विभिन्न रसायनले स्नायु तन्तुसँगको सहकार्यमा मष्तिष्कमा स्वादका संकेतहरु पठाएपछि जिब्रोमा भएको अनुभूति स्वादको रुपमा स्थापित हुन्छ,’ डा. जोशी भन्छन् ।
भनिन्छ जिब्रोले हजारौंभन्दा बढी स्वाद लिन्छ । आधाभन्दा बढी सेन्सोरी सेलहरुले धेरै स्वादमध्ये पाँचवटा मुख्य स्वाद महसुस गर्छ । जसमा गुलियो, अमिलो, नुनिलो, तीतो र टर्रो पर्छन् । स्वाद अनुभव गर्न मस्तिष्कदेखि र्याल ग्रन्थिको समेत भूमिका हुने डा. जोशी बताउँछन् ।
‘कुनै वस्तुलाई दाँतले चपाउने क्रममा वस्तुको स्वाद जिब्रोले पत्ता लगाउँछ । जुन त्यस वस्तुको केही अंश र्यालमा पग्लिन्छ र स्वादको कोपलाई सक्रिय बनाउँछ । रासायनिक प्रतिक्रिया पनि खाद्यवस्तुमार्फत हुन्छ, जसको कारण तंत्रिका आवेग उत्पन्न हुन्छ,’ उनी भन्छन् । यो आवेग मस्तिष्कको स्वाद केन्द्रमा पुग्छ र हामीले स्वाद अनुभव गर्ने उनी बताउँछन् ।
जिब्रोमा रहेका विभिन्न तहले विभिन्न स्वाद लिन्छ । स्वाद लिने क्रममा खानालाई चपाउने काम गरेर खानानलीतर्फ धकेल्ने काम गर्ने डा. जोशी बताउँछन् ।
उनका अनुसार मानिसले हरेक अवस्थामा स्वादको अनुभव गर्छ । जस्तै, ज्वरो आएमा धेरै चिसो वा धेरै तातो खानेकुरा खाने र पिउँदा मानिसको स्वाद निष्क्रिय हुन्छ वा शिथिल बन्छ जसका कारण स्वादको अनुभव हुँदैन ।
त्यति मात्र नभई पेट खराब हुँदा वा कब्जियत भएमा जिब्रोमा फोहोर जम्मा हुन्छ, जसकारण खानाको स्वाद परिवर्तन हुन थाल्छ । फोहोरका कारण खानेकुराको स्वाद ‘टेस्ट बड’ मा पुग्दैन र हामीले खानेकुराको सही स्वाद पाउन सक्दैनौं ।
बोलीमा जिब्रोको भूमिका
जिब्रोको गरिमा मीठो बोलीमा भनेको देख्ने सुन्ने गरेका छौं । जिब्रोविना आवाज स्पष्ट रुपमा निक्लिन नसक्ने जोशी बताउँछन् । ‘स्वरहरु निस्कँदा जिब्रोले तालु छोएर निस्कन्छ । जिब्रोले बोल्न र आवाज बनाउनमा धेरै महत्त्वपूर्ण भूमिका खेल्छ । ‘जब तपाईं बोल्नुहुन्छ, हावा फोक्सोबाट बग्छ र भोकल कर्डहरू कम्पन हुन्छ, डा. जोशी भन्छन्, ‘मुखबाट कम्पन हुँदा जिब्रो, दाँत र ओठको आकारको आधारमा विभिन्न आवाज निकाल्न सक्छ ।’
प्रायः सबैको जिब्रो उस्तै हुन्छ तर कसैको जिब्रो ठूलो हुन सक्छ, जसले स्पष्ट रुपमा आवाज निकाल्न सक्दैन र स्वरमा फरक ल्याउँछ । ‘जिब्रोको तल्लो भागमा रेसाजस्तो हुन्छ जुन मासुको भागले जोडेको हुन्छ जसले तालुसम्म नपुग्ने हुँदा बोली प्रष्ट हुँदैन,’ डा. जोशी भन्छन् ।
त्यसैले जिब्रोविना प्रष्ट बोल्न नसकिने उनी बताउँछन् । हर्लर सिन्ड्रोम र बेकविथ वाइडम्यान सिन्ड्रोमको कारण जिब्रो मुखभन्दा ठूलो हुन्छ । यसको उपचार शल्यक्रियाबाट मात्र सम्भव हुन्छ ।
मानिसको जिब्रोको रंगले स्वास्थ्य समस्याको संकेत दिने विभिन्न अध्ययनले देखाएका छन् । यसमा सहमति जनाउँदै जोशी भन्छन्, ‘जिब्रोको रंग गम्भीर स्वास्थ्य समस्याको संकेत हुन सक्छ । स्वस्थ हुँदा यो गुलाबी हुन्छ, तर एलर्जी र संक्रमणले यसको रंग रातोमा हुन सक्छ ।’
फंगल संक्रमण हुँदा जिब्रोमा सेतो दाग देखिन्छ । चिल्लो जिब्रोले फोलिक एसिड, आइरन र भिटामिन बी १२ जस्ता आवश्यक खनिजको कमी भएको संकेत हुन सक्छ ।
यसैगरी कसैको जिब्रो कालो रंगको पनि हुन सक्छ । दन्त चिकित्सक डा. मनिषा खर्बुजा भन्छिन्, ‘कतिपय औषधि सेवन गर्दा, मुख सफा नराख्दा र धुम्रपान बढी गर्दा पनि जिब्रो कालो हुन सक्छ कोहीको भने जन्मजात पनि कालो जिब्रो हुन सक्छ ।’
त्यस्तै, ब्ल्याक ह्यरी टंग हुँदा पनि जिब्रो कालो हुने उनी बताउँछिन् । उनका अनुसार यो समस्यामा स्वाद अनुभव गराउने गोलो सानो प्यापुलाहरु एकदम ठूलो र लामो कपालजस्तो देखिन्छ त्यसबाहेक एन्टीबायोटिक औषधि बढी सेवन गर्ने र क्यान्सरका बिरामीमा थेरापी गरेकाहरुमा देखिन्छ ।
जिब्रो सुख्खा हुने कारण
४५ वर्ष उमेर पार गरेका महिलामा वर्निङ माउथ सिन्ड्रोमको सम्भावना बढी हुने दन्त चिकित्सक खर्बुजा बताउँछिन् । ‘केही महिलामा देखिने सो सिन्ड्रोममा महिलामा जिब्रो वा मुखभित्र पोलेको महसुस हुन्छ । मुख पोल्ने र थुक कम मात्रामा रहने हुँदा मुख सुख्खा हुने यसका लक्षण हुन्,’ उनले भनिन् ।
भिटामिन १२ को अभावले वर्निङ माउथ सिन्ड्रोम गराउने हुँदा यसको कमी हुन नदिन उनको सुझाव छ । सुख्खा हुने अर्को कारण तनाव पनि हो जुन सीमित अवधिसम्मको लागि मात्र रहने खर्बुजा बताउँछिन् । डिहाइड्रेसन, एलर्जीको लागि प्रयोग हुने औषधि, दुखाइ कम गर्ने औषधि र डिप्रेसनका लागि प्रयोग हुने औषधि र क्यान्सरका बिरामीमा किमोथेरापी गराउँदा पनि मुख सुख्खा हुन्छ ।
जिब्रोलाई स्वस्थ राख्ने तरिका
मुखलाई स्वस्थ राख्न जिब्रोलाई पनि दिनहुँ सफा गर्नु जरुरी रहेको डा. खर्बुजा बताउँछिन् । खाना खाइसकेर ब्रस गरिसकेपछि टंग क्लिनरले जिब्रो सफा गर्न सकिन्छ । कुनै मेटल, प्लास्टिक र काठको टंग क्लिनरले सफा गर्न सकिन्छ । त्यसबाहेक ब्रसले पनि जिब्रोलाई सफा गर्न सकिन्छ । माउथवासले दाँतमा हुने जीवाणुलाई फैलिन नदिने भएकाले पनि सफा गर्न सकिन्छ । खानेकुरा अड्किएपछि सफा नगरेमा श्वास गन्हाउने, विभिन्न जीवाणु संक्रमणजस्ता समस्या हुन सक्ने खर्बुजा बताउँछिन् ।
एन्टीबायोटिक औषधि धेरै सेवन गर्नेमा जिब्रोमा ‘कोर्टिङ’को समस्या बढ्छ । चुरोट, गुड्खा, तमाखु, पराग खानेहरुमा मासुको डल्लो बढ्ने हुन सक्छ । त्यसको समयमा उपचार नहुँदा क्यान्सरसमेत हुन सक्ने डा. खर्बुजा बताउँछिन् ।