मानवताविरुद्धको अपराध गरेको भन्दै बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई त्यहाँको एक अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष जुलाई-अगस्टमा भएको आल्दोलन दबाउन उनले मानवताविरुद्धको अपराध गरेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । बंगलादेशी मिडिया द डेली स्टारका अनुसार त्यहाँको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको तीन सदस्यीय इजलासले सोमबार हसिनाविरुद्ध यस्तो आदेश गरेको हो । भारतमा निर्वासनमा रहेकै बेला हसिनाको उपस्थितिबिनै अदालतले मुद्दा चलाएको हो ।
४५३ पृष्ठको फैसला पढ्नुअघि न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजूमदारले ६ भागमा फैसला सुनाइने बताएका थिए । फैसलाको घोषणा बंगलादेशी टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
हसिनासँगै बंगलादेशका पूर्वगृहमन्त्री असदुज्जमां खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ । त्यस्तै पूर्वप्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल ममुनलाई ५ वर्ष कैद सजाय सुनाइएको छ । अदालतले हसिना र पूर्वगृहमन्त्री कमालको सबै सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ । हसिनामाथि करिब १४ सयको हत्याको आरोप लगाइएको थियो । त्यस्तै जुलाई-अगस्तमा भएको प्रदर्शनमा २५ हजारभन्दा बढी घाइते भएको पनि अभियोजनपत्रमा उल्लेख थियो ।
