नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा स्थानीय दुई समूहबीचको झडपले अवस्था तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय गरी करिब १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हिजो (सोमबार) बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको थियो । सोही विषयलाई लिएर आज तनाव बढेको एक प्रहरी अधिकृतले जानकारी दिए । करिब तीन महिनाअघि सो गाउँका युवायुवतीबीच भागी विवाह भएको थियो । सोही विषयलाई लिएर केटी पक्षले केटाका बुवालाई गत माघमा कुटपिट गरेका थिए । सोही घटनाका कारण उनीहरूबीच द्वन्द्व बढेको थियो । त्यतिबेला वडा कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालयमा मिलापत्र पनि भएको थियो ।