बुधबार, साउन २३ गते २०८२

औषधि आयातमा २५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको तयारी

औषधि आयातमा २५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको तयारी

अखबार दैनिक
बुधबार, साउन २३ २०८२
  • औषधि आयातमा २५० प्रतिशतसम्म कर लगाउने ट्रम्पको तयारी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि आयातमा २५० प्रतिशतसम्म कर लगाउने धम्की दिएका छन् । उनले प्रस्ताव गरेका करमध्ये यो सबैभन्दा उच्च दर हो । “हामीले औषधिहरूमा सुरुमा सानो कर लगाउनेछौँ,” ट्रम्पले सीएनबीसीको एक कार्यक्रममा भने ।

    images

    “तर, एक वर्ष, बढीमा डेढ वर्षमा यो दर १५० प्रतिशत पुग्नेछ र त्यसपछि २५० प्रतिशतसम्म पुग्नेछ । किनभने, हामी चाहन्छौँ कि औषधिहरू हाम्रो देशमै उत्पादन हुन्,” उनले स्पष्ट पारे ।

    ट्रम्पले अगाडि भने, “अरू राष्ट्रहरूले औषधिबाट ठूलो नाफा कमाउँदै आएका छन् ।” त्यसक्रममा उनले चीन र आयरल्यान्डबाट आयात गरिने औषधिलाई उदाहरणका रूपमा प्रस्तुत गरे । हालैका महिनामा ट्रम्पले पटक–पटक औषधि उद्योगलक्षित व्यापारिक कारबाहीको चेतावनी दिएका थिए । उनका अनुसार, औषधि उद्योग सन् १९९० को दशकदेखि नै विश्वव्यापी व्यापार प्रणालीमा समाहित भएको छ । त्यसको आपूर्ति शृंखला युरोपदेखि चीन र भारतसम्म फैलिएको छ ।

    ह्वाइट हाउसले यसअघि पनि औषधिमा उच्च कर लगाउने प्रतिबद्धता जनाएको थियो । तर, केही समयपछि त्यसबाट पछि हटेको थियो । गएको महिना ट्रम्पले २०० प्रतिशतसम्म कर लगाउने सम्भावना उल्लेख गरेका थिए ।

    औषधि कम्पनीले ट्रम्पको धम्की पूरा भएमा उद्योगमा अराजकता सिर्जना हुने चेतावनी दिएका छन् । उच्च करले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध ल्याउनेछ । र, कम्पनीहरू बढ्दो लागत बिरामीमा सार्न बाध्य हुने वा पहिलेदेखि नै रहेको अभावलाई झनै गम्भीर बनाउने अवस्था आउन सक्छ ।

    ह्वाइट हाउसले यो वर्षको अप्रिलमा औषधि आयातले राष्ट्रिय सुरक्षामा पार्ने सम्भावित प्रभावबारे अनुसन्धान थालेको थियो । हालका महिनामा प्रमुख औषधि कम्पनीले ट्रम्पको कर धम्कीको प्रतिक्रियास्वरूप स्वदेशी उत्पादनमा ठूलो लगानी गर्न थालेका छन् ।

    एस्ट्राजेनेकाले अमेरिकामा आफ्नो उत्पादन क्षमता विस्तार गर्न ५० अर्ब डलर खर्च गर्ने योजना बनाएको छ । जोनसन एन्ड जोनसनले अमेरिका आधारित अनुसन्धान र विकासमा ५५ अर्ब डलर लगानी गरिरहेको छ । एली लिलीले अमेरिकामा चार नयाँ उत्पादन कारखाना निर्माण गर्न २७ अर्ब डलर खर्च गर्ने घोषणा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ