सोमबार, साउन ७ गते २०८२

तुइनमै चुँडियो नारायणको सपना

तुइनमै चुँडियो नारायणको सपना

अखबार दैनिक
सोमबार, साउन ७ २०८२
  • तुइनमै चुँडियो नारायणको सपना

    व्यास गाउँपालिका–२ तल्लो दुम्लिङ । बिहानको चिसो हावाले घरको आँगन हल्लाउँदै थियो । नौ महिनाकी गर्भवती श्रीमती जानकी बुढाथोकी (जन्ना)को आँखामा चनाखो प्रतीक्षा झल्किएको थियो । श्रीमान् नारायणसिंह बुढाथोकी भारतीय बजार जानको लागि तयारी गर्दै हुनुहुन्थ्यो, “सुत्केरीका लागि लत्ताकपडा, पोषिलो आहार र औषधि किन्न ।”

    images

    स्वास्थ्यकर्मीले उहाँको श्रीमती जानकीलाई यही साउन ७ गते  सुत्केरी हुने समय दिएको छ । तर सन्तानको अनुहार हेर्ने र श्रीमतीका लागि सुत्केरी स्याहारका लागि सामान लिएर फर्किने त्यो यात्रा नारायणका लागि लागि अन्तिम बन्न पुग्यो ।

    नारायण बिहानको समयमा गाउँका दुई साथीसहित महाकाली तर्ने तयारीमा हुनुहुन्थ्यो । नेपालतर्फबाट खलङ्गा पुग्ने पैदल मार्ग अप्ठ्यारो र समयलाग्दो थियो । त्यसैले धेरैजसोले महाकाली पार गरेर भारततर्फको सजिलो सडक मार्ग रोज्ने गरेका छन् र यो छोटो मार्गको हतारमा हरेक वर्ष स्थानीयको मृत्युवरण गर्नुपरेको छ । महाकाली नदी वारपार गर्ने गर्न झोलुङ्गे पुल नभएपछि स्थानीयवासीले अस्थायी तुइन प्रयोग गरेर यात्रा गर्ने गर्छन् ।

    यही असार ३१ गते नारायण पनि त्यही तुइन पार गरेर सामान लिन हिँड्नु भएको थियो । उहाँसँगै गएका जितु पहिले तुइन पार गरे । डोरी खतरनाक रूपमा तन्कियो । उनी तर्दातर्दै डोरी महाकालीको छालतर्फ पुगिसकेको थियो । आधा लुगा भिजेरै भारतपट्टि पुगे जीतु । बल्लतल्ल ज्यान जोगाएर भारत पुगेका जितुले पारि (भारत) पुगेर गहिरो श्वास फेरे । तर आफूभन्दा पछाडि आउँदै थिए गाउँकै नारायण ।

    जितुले तुइनमा चढेर वारि भारत आउँदै गरेका नारायणलाई हातको इशारामा नआउन भने तर नारायणले त्यो इशारा देख्नुभएन वा बुझ्नु भएन । चट्टानमा ठोक्किँदै आएको महाकालीको तीव्र वेग र चिच्चाहटले बोलेको सुन्ने सक्ने अवस्था थिएन ।

    पिठ्यूँमा किनमेल गर्न बोकेको झोला, काँधमा आशाको भरोसा बोकेर तुइन समातेर नारायण महाकालीमाथि कुद्न लाग्नुभयो । बीचमा पुग्दा भारततर्फको खम्बा एक्कासि भाँचियो, नारायण सिधै महाकालीमा हेलिन पुग्नुभयो । बर्खाको उर्लंदो महाकालीको छालले सधैँका लागि महाकालीमा नारायण विलीन हुनुभयो । “मेरोे इशारा मात्रै बुझेको भए नारायण पारि गाउँतर्फ नै रोकिन सक्नुहुन्थ्यो, अकालमै ज्यान जाने थिएन”, आफ्नै आँखाअगाडि सँगैको साथी गुमाउनु पर्दा असह्य पीडा भएको बताउँदै जितुले भन्नुभयो, ‘‘उहाँको घरमा भाउजू र सानो छोराको अवस्था देख्दा साह्रै चिन्ता लागेको छ ।’’

    नारायणको बाटो पर्खेका श्रीमती जानकी अझै पनि घरको ढोकातिर आँखा गाडेर बसिरहनु भएको छ । परिवारको खुसीका लागि बच्चा जन्मनै लाग्दा श्रीमान्को मृत्युको खबरले उहाँ भक्कानिएर बोल्नै सक्नुहुन्न । जन्मिनै लागेका शिशुको अनुहार नदेखीकन नारायण अस्ताउनुभयो उर्लंदो महाकालीको गर्जनमा । नारायणको यसअघि चार वर्षका एक छोरा छन् ।

    मागको सुनुवाइ नहुँदा बर्सेनि जान्छ ज्यान
    विसं २०७२ मा प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुई वर्षभित्र तुइनमुक्त बनाउने घोषणा गर्नुभयो । घोषणा गरेपछि दार्चुलाको व्याँस गाउँपालिकाको पाँच स्थानमा महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएका छन् । व्याँस गाउँपालिका–२ स्थित मालघाट, वडा नं ४ को मलघट्टे, वडा नं ५ को तिगरम, वडा नं ६ को बडूगाउँमा पनि झोलुङ्गे पुल छन् । व्याँस वडा नं १ को सीतापुलमा काठेपुल निर्माण भएको छ ।
    यस्तै, लेकमको लाली, मालिकार्जुनको जोलजीविमा झोलुङ्गे पुल निर्माण भएका छन् । वडा नं २ दुम्लिङमा झोलुङ्गे पुल निर्माणका लागि भारतले अनुमति नदिँदा पुल बन्न बाँकी रह्यो । दुम्लिङबाट हाल निर्माण भएको वडा नं २ कै मालघाट पुल पुग्न दुई घण्टा बढी समय लाग्छ ।

    स्थानीयवासीको माग पूरा नहुँदा यहाँका नागरिकले हरेक वर्ष तुइनबाट खसेर ज्यान गुमाउनु परेको छ । व्याँस गाउँपालिका–२ दुम्लिङका मात्रै २०७९ मा १८ वर्षीय सचिन बुढाथोकी र २०८० वैशाख ९ गते ४५ वर्षीय सिङ्दलसिंह भण्डारी महाकाली नदी तर्ने क्रममा तुइन चुँडिएर बेपत्ता भए । वडा नं २ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीका अनुसार तुइनबाट खसेर वडा नं २ को मात्रै २६ जनाको मृत्यु भइसकेको छ ।


    व्यास–२ दुम्लिङमा अहिले पनि कम्तीमा तीन स्थानमा अस्थायी तुइन प्रयोग गरिन्छ । स्थानीय प्रभात बुढाथोकी भन्नुहुन्छ “हामीले झोलुङ्गे पुल बनाइदिन सरकारलाई कैयौँ पटक आग्रह ग¥यौँ, तर सरकारले वास्ता गरेन । हरेक मन्त्री प्रधानमन्त्री, सासंदलाई ज्ञापन बुझाएका छौँ ।”

    अर्का स्थानीय महेन्द्रसिंह बुढाथोकी भन्नुहुन्छ, “दुम्लिङ, कल्जु क्षेत्रमा कम्तीमा एक सय घरधुरीको बसोबास छ । तर यहाँका बासिन्दाका लागि मात्रै तुइन विस्थापन गरेर झोलुङ्गे पुल बनेन ।” दुम्लीङबाट नजिकै रहेको झोलुङ्गे पुल पुग्न दुई घण्टा हिँड्नुपर्छ । वडा नं २ मालघाटमा २०७८ साउन १५ गते जयसिंह धामीको तुइनबाट खसेर मृत्यु भएपछि झोलुङ्गे पुल बनेको थियो । त्यो पुलबाट राप्ला र मालका स्थानीय आवतजावत गर्ने गर्छन् ।

    दुम्लिङसम्म भर्खर मात्रै नेपाली सेनाले दार्चुला टिङ्कर सडक निर्माण गरिरहेको छ । सडकमा गाडी नगुडेको र झोलुङ्गे पुल पुग्न समय लाग्ने भएपछि यहाँका नागरिकले अवैध तर सजिलो विकल्पका रुपमा तुइनको प्रयोग गर्ने गर्छन् । वडाध्यक्ष धिरनसिंह बुढाथोकी थप्नुहुन्छ, “प्रत्येक वर्ष दुम्लिङ क्षेत्रबाट कोही न कोही महाकालीमा हराउँछन्, तर राज्यको आँखामा यो ठाउँ देखिँदैन ।” मागपत्र दिएकै दशकौँ भयो ।

    विसं २०७८ अघिसम्म भारतले अस्थायी रुपमा काठेपुल लगाउन दुम्लिङमा अनुमति दिएको थियो । तर कोरोनापछि भारतले अस्थायी काठेपुल भत्काइदिएपछि यो क्षेत्रका बासिन्दा लुकीछिपी तुइन लगाउने गर्छन् । अहिले पनि तुइन लगाएको देख्नेबित्तिकै भारतीय एसएसबीले काटिदिन्छ । फेरि त्यही ठाउँमा स्थानीयले आफ्नो सजिलोका लागि तुइन प्रयोग गर्छन् । प्रमुख जिल्ला अधिकारी अनिल पौडेल वैधानिक रुपमा तुइन नभए पनि स्थानीयले सजिलोका लागि तुइन प्रयोग गर्ने गरेको पाइएको बताउनुहुन्छ । “हामीले तुइन हटाउने प्रयास गरिरहेका छौँ, तर वैकल्पिक संरचना नहुँदा स्थानीय बाध्य हुँदा रहेछन् ।” रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ