काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८१/८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ ।
बैंकको कोशी प्रदेशका १९, मधेस प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्फत विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरूको आयोजना गरी करिब १० औं हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको छ । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ ।
यस सँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ । यसबाट बैंकिङ्ग प्रणाली मजबुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका विभिन्न स्थानहरूमा स्वस्थ शिविर सञ्चालन, सामुदायिक विद्यालय एवं असाहयहरुको लागि सञ्चालित संस्थाहरूमा सहयोगहरू गरिसकेका छ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोन पे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र CRN नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ ।