सुनसरी - २०१७ सालदेखिको कम्युनिष्टको एकछत्र राज तोड्दै धरान उपमहानगरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राई मेयरमा विजयी हुनु भएको छ ।
धरानमा २०१७ सालदेखि कम्युनिष्ट बाहेक कुनै पनि पार्टीले निर्वाचन जित्न सकेको थिएन । यसपटक भने नेपाली कांग्रेसका तिलक राईले नेकपाका प्रकाश राईलाई पराजित गर्दै इतिहास रच्नु भएको छ ।
बहुदलपछिको भएको पहिलो स्थानीय चुनावमा नेकपा एमालेका ध्यानबहादुर राई विजयी हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसका गोविन्द तुम्वालाई पराजित गर्नु भएको थियो । पहिलो स्थानीय चुनावमा पराजित तुम्बा प्रदेश प्रमुख समेत बन्नुभयो । दोस्रो स्थानीय चुनावमा पनि नेकपा एमालेकै मनोज मेन्यांवो विजयी हुनु भएको थियो ।
उहाँले नेपाली कांग्रेसका राजबिमल श्रेष्ठलाई पराजित गर्नु भयो । अघिल्लो स्थानीय चुनावमा पनि नेकपा एमालेकै तारा सुब्बा विजयी हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसका तिलक राईलाई पराजित गर्नु भएको थियो । यस पटक भने उही तिलक राईले माओवादी सहितको नेकपाका उम्मेदवार प्रकाश राईलाई पराजित गर्नु भएको छ ।
बहुदलअघि पनि कम्युनिष्ट समर्थितहरुकै धरानमा जीत हँुदै आएको थियो । बहुदल स्थापनाअघि धरानमा गोबिन्द मोत्तान, कष्णकुमार राई बम देवान र ध्यानबहादुर राईले चुनाव जित्नु भएको थियो ।
प्रतिनिधिसभा र संविधानसभामा पनि कम्युनिष्ट
२०१७ सालपछि स्थानीय निकाय र स्थानीय तहको चुनावमा मात्रै होइन प्रतिनधिसभाको चुनावमा समेत धरानमा कम्युनिष्टकै जित हुँदै आएको थियो । निर्वाचन क्षेत्र नम्बर एकअन्तर्गतको धरानमा बहुदलपछिको पहिलो प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका मनमोहन अधिकारी विजयी हुनु भएको थियो । उहाँले नेपाली कांग्रेसका भेखबहादुर नेपाली पराजित गर्नु भएको थियो ।
२०५१ सालको मध्यावधि चुनावमा भने नेकपाका लिला श्रेष्ठ सुब्बा विजयी हुनु भयो । सुब्बाले नेपाली कांग्रेसका चन्द्रप्रसाद श्रेष्ठलाई पराजित गर्नु भएको थियो । ०५४ सालमा एमालेकी कुन्ता शर्मा विजयी हुनु भएकोमा पहिलो संविधानसभाको चुनावमा भने माओवादीका किरण कुमार राईले बाजी मार्नु भयो ।
किरणले कांग्रेसका उमा बाँस्तोलालाई हराउनुभयो भने कुन्ताले चन्द्रप्रसाद श्रेष्ठलाई नै पराजित गर्नु भएको थियो । दोस्रो संविधानसभाको चुनावमा नेकपा एमालेका कृष्णकुमार राई विजयी हुनु भएको थियो ।
गणतन्त्र स्थापनाको पहिलो चुनावमा संघतर्फ जय कुमार राई विजयी हुनु भएको थियो । उहाँ नेकपा एमालेको तर्फबाट विजयी हुनु भएको थियो । यस्तै प्रदेशसभा सदस्यमा भने प्रदिपकुमार भण्डारीले विजय प्राप्त गर्नु भएको थियो ।
भण्डारी पनि एमालेकै उम्मेदवार हो । २०१५ सालको चुनावमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । त्यो बेला धरान क्षेत्रबाट दिक्षाज्ञान चौधरी नेपाली कांग्रेसका तर्फबाट विजयी हुनु भएको थियो ।
यसरी तोडियो नेकपाको विरासत
पार्टी एकता भएपनि तल्लो तहसम्म भावनात्मक एकता नहुनुलाई नेकपाले हारेको कारण मानेको छ । तर अघिल्लो पालिका चुनावमा निर्वाचित भएर धरानको नेतृत्व सम्हाल्न गएका जनप्रतिनिधिको व्यवहारलाई नेकपा हारको पहिलो कारण मान्न सकिन्छ । योबाहेक पालिकामा नेकपाले बितेको दुई वर्ष देखाएको कार्यदक्षतालाई हारको कारण मान्नेहरु पनि धेरै छन् ।
यस्तै नेतृत्व तहमा चिनिएको, तर नागरिकको माझामा नभिजेको नेता चुनावी प्रतिस्पर्धामा नेकपाले उतार्नु पनि नेकपा हारको कारण मान्न सकिन्छ । तिलक राई लामो समयदेखि धरानमा भिजेको नेता हो । बिभिन्न सामाजिक संघ संस्थादेखि राजनीतिमा धरानका बासिन्दामाझमा परिचित नेता भएकाले पनि उहाँको जीत भएको मान्न सकिन्छ ।
तिलकको तुलनामा प्रकाश राई धरानमा परिचित नाम होइन । सधैं सुकुम्बासीको मतका कारण विजयी हुँदै आएको नेकपा यसपटक भने कर विवाद तथा खानेपानी आयोजनाको विवादका कारण सुकुम्वासीका बीचमा अलोकप्रिय हुँदै गएको थियो ।
कांग्रेसले चुनावका बेला यसैलाई मुख्य एजेण्डाका रुपमा उठाएकाले पनि उसको जित भएको मान्न सकिन्छ । योबाहेक तिलक राई अघिल्लो स्थानीय चुनावमा पराजित भए पनि धराने नागरिकको मुद्दामा सधैं साथमा रहेकाले पनि यस पटक कांग्रेसले लाल किल्ला तोड्न सफल भएको हो ।
यो बाहेक जातीय मत पनि तिलकको पक्षमा गएको मान्न सकिन्छ । किराँत राई यायोख्खाको केन्द्रीय अध्यक्ष भइसकेकाले पनि धरानमा तिलकको राम्रो पकड थियो ।
ujaaloonline