,पोखरा
गण्डकी प्रदेशका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले विकास र समृद्विलाई स्थानिय स्तरबाट अगाडी बढाईने बताउनुभएको छ । अर्गल खेलकुद विकास मञ्च ताराखोला गाउँपालिका वडा नं २ अर्गलको १३ औं वार्षिकोत्सव तथा ऐतिहाँसिक भुष पोल्ने मेलामा बोल्दै मन्त्री लम्सालले स्थानिय स्तरमा सम्भावनाको खोजी गरि उत्पादनलाई अब आर्थिक समृद्विमा जोडने गण्डकी प्रदेशले गृहकार्य गरिरहेको बताए । ताराखोला आफैमा पर्यटकीय, कृषि, कला र संस्कृतिको धनी क्षेत्र रहेकोले यसको संरक्षण सम्वर्दन गर्दै युवाहरुलाई कृषि र पर्यटनमा आकर्षित गरि यहाँको विकासमा गण्डकी प्रदेश सरकार सँधै हातेमालो गर्न तयार रहेको मन्त्री लम्सालको भनाई छ ।

ताराखोला ऐतिहासिक सांस्कृति रुपमा पृथ्क रहेको चर्चा गर्दै बर्षको ३ सय ६५ दिन मध्य २ सय ४५ दिन मेला लाग्ने देशकै नमुना गाउँपालिका रहेको चर्चा गरे । ताराखोला अर्गानिक कृषि उत्पादन गर्ने तथा कृषिमा आत्मनिर्भर पालिका रहेको बताउदै उनले यहाँ उत्पादित कृषि उपजलाई सहज तवरले बजारीकरण गर्न सरकारले वातावरण मिलाउने बताए ।

सो अवसरमा गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटा, दिलमाया रोका,बन्दिपुर गाउँपालिका तनहुँका अध्यक्ष पुर्ण सिंह थापा, धुर्कोट गाउँपालिका गुल्मीका अध्यक्ष भोपाल पोखरेल र अर्गल खेलकुद विकास मञ्चका संस्थापक अध्यक्ष सुर्य बहादुर घर्तीले शुभकामना मन्तव्य राखेका थिए ।

अर्गलमा बसोवास गर्ने पुलिसा, ओसासा र नाओसा थरका घर्ति मगरहरुले आफ्नो पहिचान र सभ्यताको रुपमा भुस पोल्ने पर्व मनाउदै आएका छन् । अधिकांश मगर समुदाय बसोबास गर्ने अर्गल गाउँको भुष पोल्ने मेलाको छुट्टै बिषेशता रहेको छ । यहाँको ऐतिहासिक मेलाको रुपमा यस पर्वलाई लिने गरिन्छ ।
पाल्पाको अर्गली भन्ने ठाउँबाट बसाई सरी आएका मगरहरुले मेलामा आफ्ना समुदायका मानिसहरुको मृत्यु र जन्म संस्कारसंग सम्वन्धित गोपिचन गित गाउने र नाच्ने गर्दछन्् । मेलाको अन्तिम दिन उनिहरुले एक वर्ष भरी मृत्य भएका आफ्ना परिवारका सदस्यको बरखी फाल्ने गर्छन् । सोही दिन पुर्खाहरुले खेती गरेको सम्झनामा शखुबारीमा छापे खन्ने र पुजाआजा गरी हिउँदे अन्नवालीको खेति सुरु गरिन्छ । दिउसो ४ बजेको समयमा शंखुघरमा पूजा आजा गरि शंखुबारीमा छापे खन्ने गहुँ, जौ छर्ने गरिन्छ । अविवाहित युवा युवतिले बारी नसकुन्जेल सम्म नरोकी खन्ने गर्दछन भने विवाहितहरुले बिऊ छर्ने गर्दछन । पन्ध्रौँ शताब्दीदेखि सुरु भएको मानिने यस पर्वलाई अर्गलमा उत्सवकै रुपमा लिने गरिएको छ । मारुनी नाच्ने, नौमती बाजा बजाउने देखि छापे खन्ने लगाएतका कार्यहरुमा युवा युवती उत्साह का साथ संग्लग्न हुने गरेका छन ?
खेलकुद, कला, संस्कृति परम्परा हाम्रो शान, भुष पोल्ने पर्व ताराखोलाको पहिचान भन्ने मुल नाराका साथ कात्तिक २३ गते देखि शुभारम्भ भएको मेलामा पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, महिला रस्साकसी प्रतियोगिता, धनुष वाण प्रतियोगिता सञ्चालन भईरहेको अर्गल खेलकुद विकास मञ्चका सल्लाहकार तथा ताराखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष भद्र बहादुर घर्तीले जानकारी दिए ।