पर्वत / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीति तथा अन्य पहुँचका आधारमा अपराध गर्नेलाई कुनै हालतमा छुट दिन नहुने बताउनुभएको छ ।
पर्वतको लुंखुमा आयोजित लुंखु–हुवास सडक खण्ड कालोपत्रे गर्ने कार्यको शुरुवात गर्दै अध्यक्ष तिमिल्सिनाले मुलुकमा दण्डहिनताको अन्त्य गर्नका लागि पहुँचका आधारमा जे अपराध गरेपनि छुट दिन नहुने बताउनुभएको हो ।
‘ अपराधी हो भने सत्ताको नजिक होस् वा टाढा होस् कानुन सबैलाई लाग्छ’ उहाँले भन्नुभयो ‘पहुँचका आधारमा अपराध गर्नेले छुटकारा पाउने र निरपराधले सजाय पाउँने बिगतको अबस्था अब रहन हुँदैन’ उहाँले मुलुक विधिको शासनबाट अघि बढ्दै गएको बताउनुभयो ।
उहाँले आफुँ सधै दण्डहिनताको अन्त्य र सुशासनको पक्षमा भएको स्पष्ट पार्दै पहुँचकै आधारमा कसैले पनि गलत काम गर्नेलाई प्रोत्साहित गर्नु हुँदैन भन्ने धारणा राख्नुभयो । उहाँले निर्दाेष मान्छेले सजाय पाउने अवस्था नआए सम्म जनतामा बिश्वास जाग्न सक्दैन भन्नुभयो । अध्यक्ष तिमिल्सिनाले मुलुकमा तीनै तहका सरकार बनेपछि संविधानको कार्यान्वयन समेत प्रभावकारी बनेको बताउँदै राज्यका सवै संयन्त्रहरु संविधानप्रद्धत तबरवाट अघि हिडेको बताउनुभयो ।
नेपालमा रहेको प्राकृतिक स्रोत साधनको उचित प्रयोग गरेर समृद्धि हासिल गर्नुपर्ने र देशलाई हरुले के दिन्छ हाइेन आफूले के दिन सकिन्छ भन्ने तर्फ अब लाग्नुपर्ने बेला आएको पनि उहाँले बताउनुभयो । ‘मुलुक विधिमा चल्नु भनेकै समृद्धिको मुख्य आधार हो’ अध्यक्ष तिमिल्सिनाले भन्नुभयो । उहाँले संविधानभन्दा कोहि पनि माथि हुन नसक्ने बताउँनै कानून विपरितका कार्य गर्नेहरु एक दिन कारवाहिको दायरामा आएरै छाड्ने बताउनुभयो । उहाँले कानून मिच्ने अधिकार कसैलाई पनि नभएको बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सुखि नेपाली समृद्ध नेपालको नारालाई साकार पार्न वर्तमान सरकारले छोटो समयमै दुरगामी प्रभाव पार्ने काम गरिरहेको बताउँदै सरकारलाई काम गर्ने वातावरण सिर्जना गरिदिनुपर्नेमा जोड दिनुभयो । अबको समय भनेको पूर्वाधार निर्माणको भएकाले शुरुवात भएका ठुला योजनाहरुलाई सम्पन्न गर्न सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले सरकारले हरेक नागरिकलाई आधारभूति आवश्यकता परिपुर्ति गर्नेगरी राज्यले काम गरेको बताउनुभयो । उहाँले अब हरेक वस्ती, टोलसम्म सडकको पहुँच पुग्ने बताउनुभयो । उहाँले पर्वतमा नयाँ सडक खोल्नुपर्ने आवश्यकता नरहेको बताउँदै पुराना सडकहरुलाई स्तरोन्नती गर्दै जानुपर्ने बताउनुभयो । उहाँले अबको पाँच वर्ष भित्रमा पर्वतका सवै वडा सम्म पक्की वाटोको पहुँच पुग्ने बताउँदै यसका लागि आफुले पनि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले ग्रामीण क्षेत्रको विकास बिना मुलुकको समृद्धि हुन नसक्ने बताउनुभयो ।
शहरबजारको विकास र विस्तारवाट मात्र समृद्धि नआउने बताउँदै गाउँकै विकास गरेर नागरिकहरुलाई गाउँमै बस्ने वातावरण सिर्जना गरेमा मात्र नेपालीहरुको जीवनस्तरमा समृद्धि आउने बताउनुभयो । उहाँले विगतमा कालापानी भनेर चिनिने पर्वतका दक्षिण क्षेत्रमा अहिले विकासको लहर छाएको बताउँदै अबको पाँच वर्ष भित्रमा सवैभन्दा बढि विकास भएको क्षेत्रको रुपमा देखिने दावी गर्नुभयो ।
सडक शिलन्यास कार्यक्रममा संबिधानसभा सदस्य कल्पना चापागाई, फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा, जिल्ला समन्वय समितिका उपप्रमुख यमकुमारी राना, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेल, पैँयूगाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारी, विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, जलजला गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल, महाशिला गाउँपलिका वडा नं ५ का अध्यक्ष जीवन उचैै ठकुरी, महाशिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्री लगायतले बोल्नुभएको थियो ।
लुंखु–हुवास सडक १४ दशमलब ९८ किलोमिटर रहेको छ । रु ३६ करोड ९६ लाख ९३ हजारको लागतमा निर्माण हुने उक्त सढक दुई वर्ष भित्रमा सम्पन्न हुने भएको छ । २०७८ कात्तिक १४ गतेसम्म सडकको सम्झौता अवधि रहेको छ । सडक निर्माणको जिम्मा श्री हिमदुङ एण्ड थोकर प्रालिले पाएको छ ।
यो सडक कालोपत्रे भएपछि पर्वतको सुदुर दक्षिण पर्वतको हुवास लाई कालोपत्रे सडकले जोड्ने छ । विगतमा कालापानी भनेर चिनिने जिल्लाको पैंयु र विहादी गाउँपालिका सम्म कालोपत्रे सडकमा यात्रा गर्न सकिनेछ