माधव पराजुली,पोखरा
अन्तराष्ट्रिय पर्यटन दिवसको अवसर पारेर गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान थाल्ने भएको छ । पर्यटन वर्षलाई भव्यताकासाथ सफल पार्न निजि क्षेत्रको सक्रिय सहभागितामा विश्व पर्यटन दिवसको अवसर पारेर विश्व पर्यटन संघले तयार पारेका नारा पर्यटन र रोजगारी ः भविष्यमा सवैलाई लाभकारी Tourism and job : better future for all) को नाराका साथ “गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान २०१९” लिएर असोज ९ गतेदेखि १६ गतेसम्म देशका विभन्न क्षेत्रमा जाने कार्यक्रम तयार भएको हो । आन्तरिक पर्यटन बर्ष २०१९ मनाइरहेको गण्डकी प्रदेश सरकारले विहिबार पत्रकार सम्मेलन गर्दै आफ्नो पहिलो चरणको सेल्स मिसन अभियान सार्वजनिक गरेको हो ।
“गण्डकी प्रदेश पर्यटन प्रवद्र्धन अभियान २०१९” को नारासहित विभागीय पर्यटनमन्त्री विकास लम्साल नेतृत्वको ५० सदस्यीय टोलीले प्रदेश नं. १, २, ३ र ५ को भ्रमण गर्ने तथा गण्डकी प्रदेशको प्रचारप्रसार गर्नेछन् । भ्रमणको सुरुवातमा पर्यटन प्रबर्द्धन टोलीलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिदाई गर्नेछन् भने १६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने जनाईएको छ ।
बिहीबार पत्रकार सम्मेलनका क्रममा पर्यटनमन्त्री विकास लम्सालले, यस अभियानबाट आन्तरिक भ्रमण वर्ष २०१९, प्रमुख शहरहरुमा गण्डकी प्रदेशको बारेमा प्रचारप्रसार, पर्यटकीय आर्कषणहरुको बारेमा आन्तरिक पर्यटकहरुलाई बुझाउने र नेपालका प्रमुख शहरहरुका पर्यटन व्यवसायीहरु बीचमा व्यवसायिक सम्बन्ध स्थापित गर्ने लक्ष्य लिइएको जनाउनुभयो ।
अभियान अन्तर्गत प्रदेश ५ को मणिग्राम, प्रदेश २ को वीरगञ्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा दुई प्रदेशका सरकारबीच व्यावसायिक कार्यक्रम (जीटुजी), सरकार र व्यावसायिक प्रतिष्ठानबीचमा व्यापारिक सहकार्य, (जीटुबी) व्यापारीबीचको अनुभाव साटसाट, सहकार्य (बीटुबी) लगायतका कार्यहरु हुने जनाइएको छ । बीटुबी कार्यक्रम भ्रमण रुटमा पर्ने पाल्पाको तानसेन, नवलपुरको अमलटारी, चितवनको भरतपुर, मकवानपुरको हेटौडा, धनुषा जिल्लाको जनकपुरधाम, सुनसारीको धरान र झापाको बिर्तामोडमा हुनेछ ।
मन्त्री लम्सालले भन्नुभयो, “प्रादेशिक सरकारका साथै निजी क्षेत्रका व्यापारिक प्रतिष्ठानहरुसँग व्यापारिक वार्तालाभ, अनुभव आदान प्रदान तथा अन्य व्यावसायिक कार्यक्रमहरु पनि गर्नेछौँ ।” यसको अलावा गण्डकी प्रदेश सरकार आफैंले स्थानीय पत्रकारसँग भेटघाट कार्यक्रम गर्ने र प्रदेशभित्रका फोटो प्रर्दशनी गर्ने, सांस्कृतिक कार्यक्रम गीत र नाच प्रस्तुत गर्ने तथा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।
गण्डकी क्षेत्रका प्राकृतिक, सांस्कृतिक तथा सहासिक गतिविधिको तस्वीरहरु पोखरा फोटो पत्रकारहरु संघले आयोजना गर्नेछ । फोटो प्रर्दशनी मार्फत प्रदेशको प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधता, साहसिक पर्यटन गतिविधीका सुन्दर दृष्यहरुले प्रदेशको प्रचारप्रसारमा सहयोग र्पुयाउने अपेक्षा सरकारले लिएको छ ।
अन्य प्रदेश सरकारसँग सहकार्य गर्ने र त्यहाँस्थित सरकारी निकाय सहित स्थानीय जनताहरुमा गण्डकी सरकारले प्रदेश भ्रमणको निम्तो दिने र पर्यटक बोलाउने कार्यक्रमसमेत रहेको छ ।
“आन्तरिक पर्यटन प्रबर्द्धनको लागि गण्डकीमा भएका चीजहरुको सुरुमा आन्तरिक रुपमा नै प्रचारको आवश्यकता छ, त्यसपछि हामीले यसलाई अन्तर्रा्ष्ट्रिय स्तरमा लैजान्छौँ र २०२२ सम्ममा हामीले लिएको लक्ष्य पुरा गरिछाड्छौँ,” पर्यटन मन्त्री लम्साले भन्नुभयो ।
आन्तरिक पर्यटन वर्षमा आधारशीला तय गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य गण्डकी सरकारको छ । सो अनुरुप पर्यटन समिति गठनदेखि पर्यटकीय क्षेत्रहरुको सूची प्रकाशन, हरेक जिल्लामा पर्यटन समिति गठन भइसकेका छन् ।
प्रदेशभित्रको तयारी पूरा गरिसकेपछि प्रदेश सरकारले अन्तरप्रादेशिक प्रचारप्रसारको थालनी गरेको हो । सरकारको लक्ष्य प्राप्ति गर्न पर्यटन वर्ष २०१९ —०२२ को सचिवालय र नेपाल पर्यटन बोर्ड प्रदेशिक कार्यालय पोखराको संयुक्त आयोजना तथा नीजि क्षेत्रको सहभागितामा यो अभियान सञ्चालन गर्न लागिएको भम्रण बर्षका संयोजक जुद्व बहादुर गुरुङले जानकारी दिनुभयो ।
पर्यटन प्रबर्द्धन अभियानमा सरकारी कर्मचारी १० जना, पत्रकार, कलाकार, पर्यटन व्यावसायिक तथा उद्योग वाणिज्य संघ, जनप्रतिनीधि, लगायत विभिन्न क्षेत्रका ४० गरी कम्तिमा पनि ५० जनाको सहभागिता रहने जनाइएको छ ।