झण्डै एकदशकभन्दा लामोसमयदेखि एनआरएनए अभियानमा सकृय रुपमा सहभागी रहदै आउनुभएका अमेरिकी निवासी सोनाम लामाले एनआरएनए आईसीसीको आगामी निर्वाचनमा केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिनुहुने भएको छ । आगामी अक्टोबर १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए ग्लोबल सम्मेलनले आगामी दुईबर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
सन् २००९ देखि लगातार ४ बर्ष एनआरएनए आईसीसी सदस्य रहनुभएका सोनाम लामाको पहलमा एनआरएनए अमेरिका बन्द कोठाबाट आम जनतामाझ आउन सफल भएको थियो । लामा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी रहेकै बखत एनआरएनए अमेरिकाको पहिलोपटक आमरुपमा सदस्यता वितरण र निर्वाचन सम्पन्न भएको थियो ।
सन् २०१५ मा एनआरएनए आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजकमा निर्वाचित लामाले नेपालमा आएको विनाशकारी भूकम्पमा प्रत्यक्ष फिल्डमा खटिएर राहत वितरण लगायतका काममा नेतृत्वदायी भूमिका खेल्नुभएको थियो । त्यस्तै नेपालमा बाढीपहिरो लगायतका प्रकोप आउँदा पनि उहाँ अमेरिकाबाट नेपाल आएर राहतको कार्यमा खटिदै आउनुभएको छ ।
अमेरिकामा रेष्टुरेण्ट व्यवसाय गरेका लामाले नेपालको मुक्तिनाथमा रिसोर्ट र काठमाडौंमा होटल संचालनको तयारी गरिरहेका छन् । आगामी जनवरीसम्म संचालनको लक्ष्य राखिएको उक्त रिसोर्ट र होटलमार्फत रोजगारी श्रृजना गर्नमा र नेपालमा अर्थतन्त्रमा मात्र नभई पर्यटनको क्षेत्रमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ । हेल्प्यिाडसहितको व्यवस्थीत रिसोर्ट संचालन गर्न लागिएकाले मुक्तिनाथमा पुग्ने पर्यटकका लागि सहज हुने विश्वास गरिएको छ ।
एनआरएनएमा नागरिकताको निरन्तरताको मुद्दालाई लगातार उठाइरहनुभएका लामाले एनआरएनए नागरिकताको विषय सविधानमा लेखिएपनि ऐन बन्न र कार्यान्वयन हुन बाँकी रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । कार्यान्वयनका सन्दर्भमा जटिलता आउनसक्ने भएकाले त्यसलाई सहज बनाउन आफू लागिपर्ने उहाँको भनाई छ ।
उहाँको नेतृत्वमा भएको न्युजर्सी सम्मेलनबाट पारित भिजन २०२० एण्ड वियोण्डको कार्यान्वयनका लागि आफूले उपाध्यक्षमा उम्मेदवारी दिन लागेको पनि लामाको भनाई छ । एनआरएनए नागरिकतापछि अब विदेशमा रहेका नेपालीहरुले नेपालको पर्यटन, अर्थतन्त्र र समग्र विकाशमा दिनसकिने योगदानबारे एनआरएनए केन्द्रीत हुनुपर्ने उहाँको धारणा रहेको छ ।