बिहीबार , साउन ३१ गते २०८२

निटफेस्टको छैटौँ दिन इटाली र श्रीलंकाको नाटकसहित ‘पल्पसा क्याफे’को विमोचन हुँदै

निटफेस्टको छैटौँ दिन इटाली र श्रीलंकाको नाटकसहित ‘पल्पसा क्याफे’को विमोचन हुँदै

अखबार दैनिक
बुधबार, मंसिर १४ २०७९
  • निटफेस्टको छैटौँ दिन इटाली र श्रीलंकाको नाटकसहित ‘पल्पसा क्याफे’को विमोचन हुँदै

    काठमाडौँ : भारत र श्रीलंकाका दुई नाटक, नाटकको पुस्तक विमोचन र सांगीतिक प्रस्तुतिसहित नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) छैटौँ दिनको कार्यक्रम आयोजना हुँदै छ।

    इटालीको नाटक इभान हास्टिङ निर्देशित नाटक ‘स्याडो लिवेरेसन’को बुधबार दुई मञ्चन हुँदै छ। छाया नाटक र कचहरी नाटकको मिश्रित शैलीमा तयार पारिएको सहभागितामूलक यस नाटकमा यौन उत्पीडनको रोकथामको सन्दर्भलाई विषय बनाएको छ। नाटकले आघातबारे अन्तरक्रियामा आधारित अभ्यासको उपयोग गर्दै छाया माध्यमद्वारा नाट्य थेरापीको प्रयास समेत गर्दछ।​


    ‘स्याडो लिवेरेसन’ दिउँसो २ र साँझ ६ बजे मण्डला स्टुडियोमा मञ्चन हुँदै छ। त्यस्तै दिउँसो २ बजे मण्डला नाटकघरमा श्रीलंकाको नाटक ‘राजा मन वहला’ मञ्चन हुँदै छ।

    ‘राजा म दास हुँ’ भन्ने अर्थ लाग्ने नाटकमा एक दास, राजा, राजकुमार अनि प्रेमथिका नाम गरेको एउटा केटाले तीन फरक कथा सुनाउँछन्। जब  सबै पात्रहरूले आफ्नो नियतिको पर्दाफास गर्छन् र अन्त्यमा दर्शकले यी तीनमध्ये श्रेष्ठ नायक को थियो भनेर छान्नुपर्ने हुन्छ।

    त्यस्तै महोत्सवमा बुधबार मध्याह्न १२ बजे नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’को विमोचन हुँदै छ। सुरज सुवेदीले नाट्य रूपान्तरण गरेको उक्त नाटक केही महिनाअघि मण्डला नाटकघरमा मञ्चन पनि भएको थियो। विमोचन लगत्तै ‘नाटकमा शब्दको आकृतिः कस्तो देखिन्छ, कस्तो लेखिन्छ ?’ शीर्षकमा प्यानल डिस्कसन हुनेछ। जसमा साहित्यकारहरू नयनराज पाण्डे, उपेन्द्र सुब्बा, रङ्गकर्मीहरू विमल सुवेदी, दिया मास्केसँग र लेखक, पत्रकार वसन्त बस्नेतले वार्ता गर्नेछन्।

    ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः विविधताको उत्सव’ भन्ने नाराका साथ भइरहेको महोत्सवमा छैटौं दिनको अन्तिम कार्यक्रममा कलाकारहरू हुम बिसी र माधव त्रिपाठीले नेपाली लोकबाजाको सांगीतिक प्रस्तुति दिनेछन्।

    ​निटफेस्टमा मंगलबार अमेरिकी अडियो नाटक ‘ट्री कन्फेसन’, उरुग्वेको नाटक ‘रियो’ र नेपाली प्रयोगात्मक प्रस्तुति ‘इम्ब्रिओनिक’को मञ्चन भएको थियो। साथै साँझमा नृत्य प्रस्तुति ‘पाइतालाका यात्रा’ प्रस्तुत भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ