माधव पराजुली,पोखरा
२०७६ |०५ |२९
लमजुङको क्व्होलासोंथार गाउँपालिका वडा नं. १ बाग्लुङपानीलाई बालमैत्री वडा घोषणा गरिएको छ । बालबालिका सम्वन्धी विभिन्न ३९ बुँदे मापदण्ड पुरा गरेपछि बाग्लुङपानीलाई आईतवार बालमैत्री वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनका न्युनतम सूचकहरु बाल बचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागीता र संस्थागत विकास सम्बन्धीका सबै सूचकहरु पुरा गरेपछि उक्त वडालाई जिल्लाकै पहिलो बालमैत्री वडाका रुपमा घोषणा गरिएको हो ।
आईतवार गण्डकी प्रदेशका उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उक्त वडालाई बालमैत्री वडा घोषणा गर्नुभएको हो । सोही अवसरमा उहाँले बालबालिकाको स्वास्थ्य,सुरक्षा,पोषण,शिक्षा हक लगाएत संविधानले प्रदान गरेका बालबालिका सम्बन्धी हक कार्यन्वयन गर्न तर्फ लाग्न स्थानियवासीलाई अपिल गर्नुभयो । बालबालिकाहरुको जिवन सुखमय र फलदायी बनाउन उनीहरुको नियमित गतिविधिलाई नजिक बाट नियाल्दै मनोरम वातावरणमा हुर्काउदै देशको लागि सक्षम नागरिक तथा समाजको अग्रगामी विकास गर्ने अगुवा बनाउन बालमैत्री स्थानिय शासनको आवश्यता रहेको औल्याउनुभयो ।

मन्त्री लम्सालले बालबालिका भविष्यका कर्णधार रहेको भन्दै बालबलिकाहरुलाई स्वस्थ,निरोगी र असल आचरणयूक्त बनाई शान्तमनोरम वातावरणमा गुणस्तरिय शिक्षा प्रदान गरि देशको भविष्य सुन्तदर बनाउने जिम्मेवारी सुम्पिनु पर्ने बताउनुभयो । आजका बालबच्चा भोलीका कर्णधार हुन्,भोलीका प्रधानमन्त्रीहुन्,शिक्षक हुन,समाजको अगुवा गर्ने व्यक्ति हुन मन्त्री लम्सालले भन्नुभयो”हामीले बाबालिकाहरुलाई समयै ज्ञान दिलाउन सकेनौँ भने सुन्दर देश निर्माणमा बाधा पुग्छ । शिक्षा विना विकास,समृद्वि र परिर्वतन सम्भव नरहेको मन्त्री लम्सालको भनाई थियो । आज हामी गतिलो गरि बालबच्चाहरुलाई सिकाउन सकनौँ भने भोली विकास निर्माणमै बाधा पुग्छ,उहाँले भन्नुभयो”दक्ष जनशक्ती उत्पादन गर्न सकिदैन त्यसैले हामीले अब व्यवहारिक र प्राबिधिक शिक्षाको अबलम्बन गर्नुपर्छ” । साक्षरमुखी शिक्षाको अन्तय गरि व्यवहारिक र प्राबिधिक शिक्षा तर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
समय सापेक्ष तथा आवश्यत्ताका आधारमा शिक्षण पद्वतीलाई बदल्नुपर्नेमा मन्त्री लम्सालको भनाई थियो ।
मन्त्री लम्सालले शिक्षाको गुणस्तर दिनानुदिन खस्किदै गएको तथा बच्चा बढाउन अभिभावकहरुको ध्यान शहरकेन्द्रित भएको वर्तमान अवस्थामा गाउँका बिद्यालयहरुले गुणस्तरयुक्त शिक्षा प्रवाह गर्नुसक्नुपर्ने समेत बताउनुभयो ।

बालबालिका सम्वन्धी विभिन्न बुँदाहरुका साथै ३९ बुँदे मापदण्ड पुरा गरेपछि बालमैत्री वडा घोषणा गर्न मिल्ने भएकाले क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष प्रेम ब. घलेले गाउँपालिकाका सबै वडाहरुलाई बालमैत्री घोषणाका लागि आधारभुत पुर्वाधारहरु तयार गरिरहेको बताउनु भयो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख विर ब. गुरुङ,वडा नं. २ का वडाध्यक्ष वुद्वि प्रसाद गुरुङ,गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका स्वकीय सचिव सुर्य प्रसाद गुरुङ,वाल क्लवका अध्यक्ष सुनिल तामाङ लगाएतले बोल्नुभएको थियो । सोहि अवसरमा विभिन्न क्षेत्रका ब्यक्तिहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।