(एनआरएनए) को उपाध्यक्षमा दुई कार्यकाल सफलतापूर्वक नेतृत्व गरेका कुमार पन्त आगामी एनआरएनए नेतृत्वको लागि सशक्त दाबेदार हुन् । एनआरएनमा लामो यात्रा र अनुभव सँगालेका आचार्यले पहिले महासचिव भई काम गरे भने अहिलेसहित दुई कार्यकाल त उपाध्यक्ष नै भएर काम गरिसकें । वरिष्ठताको हिसावले आफु अगाडि भएको बताउने आचार्य आगामी नेतृत्वको लागि तयार भएको बताउँछन् । यसमा पनि अझ संसारभरिका एनआरएन साथीहरुको अनुरोधलाई पनि मध्यनजर गर्दै आफु आगामी नेतृत्वको लागि तयार भएको उनको भनाई छ । संघका वर्तमान अध्यक्ष भवन भट्टले आफु दोश्रो कार्यकालका लागि उम्मेदवार नबन्ने घोषणा गरेसँगै निकै उत्सानहित बनेका पन्त यसपटक आफ्नो नाममा सर्वसम्मत हुने सम्भावना बढेको बताउँछन् ।
एनआरएनए अध्यक्षका लागि तयार हनुभएको हो ?
मेरो एनआरएनमा लामो यात्रा र अनुभव छ । म महासचिव भई काम गरिसकेको र योसहित दुई कार्यकाल त उपाध्यक्ष नै भएर काम गरि सकें । वरिष्ठताको हिसावले पनि म अगाडि भएको हुँदा पक्कै पनि म आगामी नेतृत्वको लागि तयार छु । यसमा पनि अझ संसार भरिका एनआरएन साथीहरुको अनुरोधलाई पनि मध्यनजर गर्दै म आगामी नेतृत्वको लागि तयार छु तर यो औपचारिक घोषणा भने होईन । औपचारिक घोषणा पछि गर्नेछु । म एनआरएनएनको नेतृत्व लिन सक्षम छु । विश्वभरीका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ । गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन तपाई नेतृत्वमा हुनुपर्छ, सहयोग गर्न तयार छौं भनेर भन्नुभएको छ । केही अघि मात्रै अमेरिकासहित युरोपका देशहरुमा पुग्दा त्यस्तै खालको प्रतिक्रिया पाएको छु । साथीहरुसँग सामाजिक सञ्जाल र भिडियो कन्फरेन्समा छलफल हुँदा उहाँहरुले दर्शाउनु भएको मायाले उत्साहित बनाएको छ । अहिले साथीहरुको ‘फिडब्याक’ लिने क्रमको अन्तिम चरणमा छु । फेरि अब म ब्याक हुने वा चुनाव नलड्ने भन्ने प्रसङ्ग नै रहदैन । चुनाव लड्न मैदानमा जो आए पनि स्वागत छ ।
नेतृत्वका लागि कस्तो कार्ययोजना बनाउनु भएको छ ?
‘भिजन २०२०’ भन्ने प्रस्ताव निवर्तमान अध्यक्ष शेष घलेले ल्याउनुभएको हो र त्यसमा एनआरएनले च्यारिटीको कामलाई कसरी अघि बढाउने भनेर स्पष्टसँग लेखिएको छ । त्यसलाई कर्यान्वयनमा लिएर जानुपर्ने मेरो कर्तव्य छ । अर्कोतर्फ हामी पछाडि धेरै ठूलो संख्याको एनआरएन दोस्रो पुस्तामा छ । त्यो पुस्तालाई स्थानीय राजनीति, व्यवसायिक , सामाजिक लगायतका क्षेत्रमा कसरी सहभागी गराउने भन्नेबारे पनि मेरो ध्यान रहनेछ । जति धेरै युवा पुस्तालाई एनआरएनमा सहभागी गराउन सकियो त्यति नै दोस्रो पुस्ताले पनि लाभ लिन सक्छन । त्यसले गर्दा नेपालले पनि फाइदा लिन सक्छ भन्ने मेरो बुझाई छ । प्रवासमा महिलाहरु निकै सक्षम छन् तर उनीहरुको उल्लेख्य रुपमा एनआरएनमा सहभागिता नभइरहेको अवस्थामा सहभागिता बढाउन पनि मेरो पहल रहनेछ ।
भनेपछि यो पटक अध्यक्ष हुने वातावारण तयार भएको मान्नुहुन्छ ?
म धेरै देशहरुमा पुगे । हालसालै मात्र ३० वटा मुलकहरुका गैरआवासीय नेपालीहरुसँग त्यही पुगेर नै छलफल गरिसकेको छु । ‘जरोदेखि लागेको मान्छे तपाईं हो अब नेतृत्व गर्नुपर्छ’ भन्ने उहाँहरुको सुझाव मात्र हैन एकमत नै छ । त्यसैले पनि आगामी नेतृत्व सम्हाल्ने माहोल बनिरहेको अबस्था हो ।
तर अध्यक्ष बन्नका लागि पूर्वअध्यक्षहरुको साथ समर्थन, सहयोग र आर्शिवाद चाहिन्छ भन्छन् नि ?
पूर्वअध्यक्षहरुले मलाई नै समर्थन गर्ने भनिराख्नुभएको छ । संस्थापक अध्यक्ष उपेन्द्र जीले कम्तीमा अध्यक्ष मात्र भए पनि यसपटक सर्बसम्मत बनाउन पाए हुन्थ्यो भनिराख्नुभएकै छ । शेष दाईले पनि अब तपाईंकै पालो हो अघि बढ्नुहोस् मेरो शुभकामाना छ भन्नुभएकै छ । तर हामी नेपालीहरु निर्वाचनमा अलिकति रमाउने र अलिकति पर्वको रुपमा लिने चलन पनि छ । निर्वाचन नभए अलिकति खल्लो हुन्छ भन्ने समूहका साथीहरु पनि हुनुहुन्छ । तर पनि सर्बसम्मत हुने धेरै सम्भावना देख्छु । नभए प्रजातान्त्रिक प्रक्रिया त छदै नै छ ।
साँच्चिकै सर्बसम्मतको सम्भावाना हो त ?
हो । एकदमै धेरै सम्भावना छ । बिशेष गरी भवन जीको अस्तिको बक्तब्य आइसकेपछि त झन् सम्भावना बढ्यो । मेरो र उहाँको धेरैपटकको कुराकानीमा पनि सर्बसम्मत नेतृत्वका लागि पहल गर्छु भन्नुभएकै छ ।
अध्यक्ष भट्टले तपाईंहरुको आन्तरिक सहमति अनुसार नै ठाउँ खाली गरिदिनु भएको हो ?
त्यसरी पनि नलिउ । निर्वाचनको समय नजिकिदै छ । नेतृत्वका इच्छा राख्ने साथीहरुलाई मार्ग प्रशस्त होस् भनेर बक्तब्य दिनुभएको हो भन्ने लाग्छ । मसँग भएको सहमति नितान्त व्यक्तिगत हो । मैले त्यतिबेला उहाँलाई सघाउने र उहाँले भविष्यमा सघाउने भन्ने कुरा नै हो । तर भ्रम नहोस् कि त्यसमा कुनै सँस्थागत संग्लनता छैन । उहाँले अध्यक्षको रुपमा बक्तब्य दिदैगर्दा हाम्रो सहमतिलाई आधार मानेर दिएको भन्ने प्रश्न आउँदैन । र मलाई त्यस्तो पनि लाग्दैन । नेतृत्व गर्न लायक थुप्रै सक्षम साथीहरु हुनुहुन्छ भन्ने ठानेर नै मार्गप्रशस्त गर्नुभएको भन्ने मेरो अनुमान छ ।
अहिले एनआरएनए अभियान कसरी अगाडि बढिरहेको छ ?
प्रमुख रुपमा गैर आवासीय नेपाली संघ (एनआरएनए) को मुख्य दायित्व भनेकोे आफ्नै कार्यालय भवन सम्पन्न गरि सचिवालय संचालन गर्नु रहेकोमा त्यो सम्पन्न भएको छ । त्यसै गरि २०७२ सालको भुकम्पको केन्द्र बिन्दु रहेको गोरखाको लाप्राकमा ५७३ वटा घरहरु निर्माण सम्पन्न भएको छ र केही समयमा समुदायमा हस्तान्तरण हुँदैछ । काठमाडौंको शंखमुलमा रहेको एनआरएनए पार्कको परियोजना सम्पन्न गर्नुपर्ने कार्यभार हाम्रो काँधमा रहेको हुँदा उक्त कामहरु सम्पन्न गर्नेमा केन्द्रित भयौं । त्यसका अलावा बिभिन्न क्षेत्रमा हुने सम्मेलन तथा बिज्ञ सम्मेलनहरु गरि कार्ययोजना बनाउने नै हाम्रो प्रमुख कार्यभार हो अहिले ।
यहाँले आफ्नो उपाध्यक्षको कार्यकालमा उल्लेखनीय कामहरु के–के भए ?
म उपाध्यक्षमा निर्वाचित भईसके पछि मेरो जिम्मेवारीमा निर्माणाधिन एनआरएनए भवन सम्पन्न गर्नु पर्ने थियो । उक्त कार्य सम्पन्न गरि गत डिसेम्बर महिनाबाट एनआरएनए को सचिवालय आफ्नै भवनमा संचालन भईरहेको छ । त्यसै गरि अर्को जिम्मेवारी भनेको बिभिन्न मुलुकमा छरिएर रहेका नेपाली बिज्ञहरुलाई एकै स्थानमा भेला गरि बिज्ञ सम्मेलन गर्नुपर्ने मलाई जिम्मेवारी थियो उक्त काम पनि मैले सफलताका साथ सम्पन्न गरि आफ्नो जिम्मेवारी पुरा गरेको छु । संगठनले जिम्मा दिएका सबै काम ईमान्दारिताका साथ पुरा गरिरहेको छु ।
उपाध्यक्षको हैसियतले एनआरएनको अहिलेको गतिविधी बारेमा केही बताईदिनुस् न ?
बिभिन्न मुलुकामा हामीले अन्तराष्ट्रिय सम्मेलनहरु सम्पन्न गरिसकेका छौं । यस्ता सम्मेलनहरुबाट विभिन्न विषयहरुको पनि आदान प्रदान हुने र त्यसले उपयुक्त निष्कर्ष पनि ल्याउने भएकाले हामी यस्ता सम्मेलनहरुमा सहभागी भइरहेको छौ. । विश्वभर रहनुभएका एनआरएनए अभियानसँग जोडिनुभएका सबै साथीभाइहरुसँग एकाकार हुँदै हामी समग्र एनआरएनएको उद्देश्य र लक्ष्यमा केन्द्रित छौं ।
प्रवासमा बस्ने नेपालीलाई केन्द्रित गरेर एनआरएनले के कस्ता काम गरिरहेको छ अहिले ?
एनआरएनको मुख्य काम भनेकै प्रवास रहेका नेपालीहरुको हक अधिकारका विषयहरुलाई उजागर गर्नु हो । नेपालमा लगानी मैत्री वातावरण सुजन गर्न नेपाल सरकारसंग सहकार्य गरि तत्काल कार्यान्वयनको पक्षमा जाने तयारी गरि रहेका छौं । हामी लगानीको विषयलाई नारामा मात्र सिमित नगरी कार्यन्वयन गरेर परिणाम निकाल्ने तर्फ अगाडी बढेका छौं । यो नै प्रवासी साथीहरुको खुसीको विषय हो नी ।
एनआरएनका अहिलेका मुख्य मुद्दाहरु के–के हुन ?
एनआरएन को पहिलो विषय भनेको गैर आवासीय साथीहरुको अधिकार र संरक्षण नै हो । त्यस पछि नेपालमा लगानी भि¥याउने र आफ्नै देशमा केही गर्ने अवसर सृजना गर्नको लागि कम्पनी नै दर्ता गरि काम गरिहेरका छौं । लगानी कम्पनीमा गैर आवासीय नेपाली साथीहरुले मात्र शेयर किन्न पाउने गरि तयारी गरिरहेका छौं । यस सम्बन्धमा सानो रकम देखि ठुलो रकम सम्मको शेयर बिदेशमा बसेका नेपालीहरुले किन्न पाउने व्यवस्था सहित हामी अगाडी बढेका छौं । यो भन्दा खुसीको विषय के हुन सक्छ र गैर आसीय साथहरुको लागि ।
एनआरएनको ड्रिम प्रोजेक्ट लाप्राक प्रोजेक्टको कार्य प्रगति के कस्तो भइरहेको छ ?
लाप्राक परियोजनाको काम सकिएको अवस्था छ । हामीले नमुना बस्ती निर्माण गरिसकेका छौं । हामीले समुदायमा हस्तान्तरण पनि गरिसकेका छौं ।
एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने भनिएको छ नि त्यो नारामा मात्रै सिमित हो कि ?
पक्कै पनि परिणाम नआए सम्म मानिसहरुलाई विस्वास दिलाउन कठिन छ । तर हामी बोलेका बचन पुरा गर्छौं । कुनै पनि हालतमा एनआरएनले लगानीसँगै सीप, प्रविधि भित्र्याउने सवालमा कुनै दुईमत छैन । यो काम नारामा मात्र कदापी सिमित हुन दिने छैन ।
एनआरएनले नेपालमा गत अक्टोवरमा विज्ञ सम्मेलन सम्पन्न गर्यो यसले प्रवासमा बस्ने नेपालीलाई के फाईदा पुर्यायो त ?
विज्ञ सम्मेलन निश्चित रुपमा प्रवासमा रहनुभएका नेपालीहरु कै लागि आयोजना गरिएको थियो । बिज्ञ सम्मेलनबाट निर्णय गरि स्वेत पत्र नै जारी गरि हामी कार्यान्वयनको चरणमा छौं । उक्त सम्मेलनमा छलफल भएका विषयहरुलाई कार्यान्वयन गरि यथा सक्य छिटो परिणाम मुखी बनाउने तर्फ लागेका छौं । यस विषयमा ढिलाई हुने छैन ।