अचेल किसानलाई माना रोपेर मुरी उब्जाउने चटारो छ । कोही धान रोपाइँमा, कोही कोदो रोपाइँमा त कोही मकै भित्र्याउनमा व्यस्त । गोरखा नगरपालिका–११ तेह्रकिलो बजारभन्दा दुई कान्ला तल सानो टहरोमा बस्ने ५५ वर्षीय चेतबहादुर कुसुन्डालाई भने न रोपाइँको ध्याउन्न, न त बारीमा मकै सुक्ला भन्ने पीर ।
आफूजस्तै दिनरात श्रम गरेर खाने दाैंतरीसँग उहाँको समय बित्छ । लोपोन्मुख भनेर चिनिने कुसुन्डा जातिको गोरखामा एउटा मात्रै घर छ । चेतबहादुर छिमेकीले दिएको तीन आना जग्गामा एकपाखे घर बनाएर आफ्ना दुई छोरा, बुहारी र नातिनातिनीसँग बस्नुहुन्छ । सम्पत्तिको नाममा घरले चर्चेको यही जग्गा हो उहाँको । त्यसले असार, साउन आए पो के, कात्तिक, मङ्सिर आए पो के १
“योभन्दा बाहेक टेक्ने जग्गा पनि छैन । सम्पत्ति भने पनि जे भने पनि यही अरूले दिएको जग्गा हो । यसैमा सरकारले बनाइदिएको सानो घर र दुईचारवटा कुखुरा छन् । कुखुरा पनि थुनेर पाल्छौँ । नत्र अरूको जग्गामा गइहाल्छन्”, कुसुन्डाले भन्नुभयो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कुसुन्डा समुदायको जनसङ्ख्या २५६ मात्रै छ । यसैमा पर्छ चेतबहादुरको आठ सदस्यीय परिवार । उहाँको परिवार विगत ४५ वर्षदेखि गोनपा–११ स्थित तेह्रकिलोमा बसोबास गर्दै हो । विसं २०३८ मा आफ्नी आमा सुमित्रा वनकीरानी कुसुन्डासँग तेह्रकिलो आएको चेतबहादुरलाई हिजै हो जस्तो लाग्छ । उहाँ आफू ११ वर्षको हुँदा पालुङटारको खोप्लाङबाट झिटीझाम्टो बोकेर तेह्रकिलो आएको सम्झना सुनाउनुहुन्छ । “१० वर्षको हुँदा बा बिते, भोकले लखतरान हुँदै जुठो बारेको याद छ । बा’को काजकिरिया सकेपछि आमाले खोप्लाङमा भएको झिटी आठ हजारमा बेचेर यहाँ आएका हौँ”, चेतबहादुरले भन्नुभयो, “यहाँ पनि बिरालोले बच्चा सारेजस्तो, कहिले यता, कहिले उता । सायद यो तेह्रकिलो बजारमा हामी नबसेको घरै छैन । अब अरूको घरमा भाडा गरेर बसेपछि ‘छोड्दे, अन्तै जा’भनेपछि जानै प¥यो !”
आमा सुमित्रा वनकिरानीले आफू र दुई छोरीलाई कहिले यता, कहिले उता सारेको कष्टकर दिनको सम्झिँदा चेतबहादुर अहिले पनि गम्भीर बन्नुहुन्छ । दिदीबहिनी दुवैले तेह्रकिलोबजारमा बिहे गरेकाले आफूहरू पनि दिदीबहिनी नजिकै बस्न आएको उहाँले सुनाउनुभयो । “दुवै जनाले क्षेत्रीसँग बिहे गरे । दिदीको बुढा ड्राइभर थिए, हामी पनि दिदीकै रेखदेखमा यही बस्न आयौँ । यहाँ आएको केही समय म पनि भेनाकै पछि लागेर खलासीको काम गरेँ”, चेतबहादुरले भन्नुभयो ।
खोप्लाङ छोडेर तेह्रकिलो झरेको केही समयपछि आफूहरू नवलपरासी पनि पुगेको उहाँले बताउनुभयो । “यहाँ बस्न आएको केही समयपछि आमाले कताबाट त्यहाँ सरकारी जग्गा मिल्छ भन्ने सुनेछन् । हामी आमाछोरा नै जग्गा पाउने आसमा त्यही गयौँ । जग्गा त केको मिल्थ्यो बरु उल्टै दुःख मिल्यो । आमाले अरूको घरमा काम गर्थिन् । सानो झुप्रो हालेर बसेका थियौँ । मलाई भने त्यहाँ खासै बस्न मन लागेन अनि एक वर्षपछि तेह्रकिलोमै फर्किएँ । आमा पनि म यहाँ आएको केही वर्षपछि फर्किइन्”, चेतबहादुरले भन्नुभयो ।
उहाँले २०–२२ वर्षको उमेरमा नजिकै पन्ध्रकिलो बस्ने कमला घर्तीसँग बिहे गर्नुभयो । बिहेपछि दुईपटक कतार र एक पटक साउदी पनि पुग्नुभयो । उहाँका दुई भाइछोरा र एक छोरी छन् । जेठो छोरो ३२ वर्षीय अनिल कुसुन्डा हाल ड्राइभर हुनुहुन्छ । अनिलले भच्चेककी बिमाया गुरुङसँग बिहे गर्नुभएको छ । उहाँको दुईभाइ छोरा छन् ।
छोरी अनिता कुसुन्डाले तेह्रकिलोमै बिहे गर्नुभएको छ । कान्छो छोरो २८ वर्षीय अशोक कुसुन्डा हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ । भोगटेनीकी आशा गुरुङसँग विवाह गरेका अशोकका एक छोरा र एक छोरी छन् ।
आफ्ना तीनैजना छोराछोरीले ४–५ कक्षा पढ्दै छोडेको उहाँले बताउनुभयो । “नपढ्नेलाई जति कराए पनि लाग्दैन रहेछ । सानैमा बिहे गरेर अहिले छोराछोरीको धनी भएका छन्”, चेतबहादुरले भन्नुभयो, “म पनि अक्षर चिन्दिनँ । छोराछोरीले के पढ्थे ।”
चेतबहादुरकी श्रीमतीको भने मृत्यु भइसकेको छ । “बुडिया बितेको त चार वर्ष भयो । आमा पनि पोहोरको चैतमा खसेकी हुन्”, उहाँले भन्नुभयो, “आफन्तका नाममा दिदीबहिनी र ससुराली छन् । आमाको माइती लमजुङको भोटेओडार हो । मावली टाढा भयो, आउजाउ छैन ।”
आफू १० वर्षको हुँदा बितेका बुबा गनबहादुर कुसुन्डा को थिए रु कहाँबाट आएका थिए रु र उहाँको परिवार को हुन् भन्नेबारे चेतबहादुर बेखबर हुनुहुन्छ । उहाँलाई न कुसुन्डाको भाषा थाहा छ, न रीतिरिवाज, न त वेशभूषा नै । उहाँले अन्यत्रका कुसुन्डा समुदायसँग चिनजान, आउजाउ पनि गर्नुभएको छैन । गोरखा दरबार सङ्ग्रहालयमा आफ्नो जातिको डमी राखेको देखपछि आफू खुसी हुने गरेको उहाँको भनाइ छ ।
“अन्ततिरको कुसुन्डाहरूले त आफ्नै भाषा बोल्छन् रे भन्ने सुनेको छु । अब हामीलाई त केही थाहा छैन । बाउबाजेसँग सङ्गत भएको भए पो आफ्नो जात, धर्म, संस्कृतिबारे केही थाहा हुन्थ्यो होला”, उहाँले भन्नुभयो । आफूहरूले अरू हिन्दूसरह नै सबै चाडपर्व मनाउँदै आएको चेतबहादुरले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “दसैँ, तिहार सबै मनाउँछौँ । अरूले जस्तै हरेक वर्ष वायु पूजा, कुलायन पूजा पनि गर्छौं । हाम्रो कुलायन पूजामाचाहिँ भाले चढाउनु पर्छ ।”
सरकारले उहाँको आठ जना परिवारलाई प्रतिव्यक्ति मासिक चार हजारका दरले भत्ता दिँदै आएको छ । हाल बस्दै आएको एकपाखे घर पनि जनता आवास कार्यक्रमअन्तर्गत निर्माण भएको हो । अब सरकारले लोपोन्मुख कुसुन्डा जातिको उत्थान र संरक्षणका लागि थप कार्यक्रम ल्याउनुपर्ने चेतबहादुरको भनाइ छ । सरकारले आफूहरूको लागि उचित बासस्थानको व्यवस्था मिलाउनुपर्ने उहाँको माग छ । रासस