जलाउन राखिएको शवबाट मासु र हड्डी चोरी भएको छ । पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएको हो । प्रहरीले यस विषयमा अनुसन्धान थालेको छ । मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो ।
काभ्रेको बनेपा - ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो ।
तर, उनले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् ।
मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको छ । डीएसपी खनालका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ ।