जनैपूर्णिमाको अवसरमा रसुवाको गोसाइँकुण्डमा लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि स्वास्थ्यकर्मीको टोली गोसाइकुण्ड पुगेको छ ।रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा प्रत्येक वर्ष लाग्ने जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित ६ जनाको टोली गोसाइकुण्ड पुगेको हो ।
डा पदम जोशीको संयोजकत्वमा ‘माउण्टेन मेडिसिन सोसाइटीका चिकित्सक’ गोसाइँकुण्ड पुगेको हो । उक्त समूहमा डा अनिलकुमार शाह, डा प्रिन्स सिंह, डा सुजन पौडेल, डा समिर बस्नेत र प्यारामेडिक आङदावा शेर्पा हुनुहुन्छ । सो समूहले एक हप्तासम्म गोसाइँकुण्डमा बसेर तीर्थयात्रीलाई स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
“उक्त टोलीले गोसाइँकुण्ड जाने भक्तजनलाई बाटोमासमेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्ने जनाइएको छ । उक्त चिकित्सक समूहले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने छ ।
एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । रासस