नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठलाई संरक्षक रेशम चौधरीले जवाफ माग्दै पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन चुनौती दिएका छन् । संरक्षक चौधरीले पत्नीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जितासँग पोखराको लिची बगैंचाको जग्गा नामसारी गर्न भएको घुसकाण्डबारे जवाफ बैठकमा आएर दिन माग गरेका हुन् ।
फेसबुकमा एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘उहाँले अरूको बारेमा लेख्नुहुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नुहुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ। नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को रु परिचालित व्यक्ति होइन र ?’
उनले थपे, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईँका कारण सिर्जना भयो । तपाईँका कारण उत्पन्न सिर्जना भए पनि हामीले तपाईँसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाईँ केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्टरूपमा जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनुभएको हो ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईँको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’