परराष्ट्रमन्त्री डा आरजु राणा देउवा इटालीको रोममा यही ‘जुन २८ देखि जुलाई ४’ सम्म आयोजना हुने ‘खाद्य तथा कृषि सङ्गठन (एफएओ) कन्फ्रेन्स’को ४४औँ सत्रमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सो कन्फ्रेन्सको प्रमुख सत्र र यसका दौरानमा आयोजना हुने अन्य उच्चस्तरीय कार्यक्रमहरूलाई उहाँले सम्बोधन गर्नुहुने मन्त्रालयले जनाएको छ । उहाँले नेतृत्व गर्नुभएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत तथा एफएओका लागि नेपाली स्थायी प्रतिनिधि एवं परराष्ट्र र कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अधिकारीहरु सहभागी हुनुहुन्छ ।
उक्त सम्मेलनपश्चात् परराष्ट्रमन्त्री डा राणा इटालीको मिलान, जर्मनीको ह्याम्बर्ग र बर्लिनमा लगानी बोर्ड नेपालले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागी हुनुहुनेछ । उहाँलाई आज बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईसहित उच्च अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । रासस