काठमाडौं - २७ कोरोनाभाइरस (कोभिड–१९) को महामारीकै बीच भारतले नेपाली भूमि अतिक्रमण गरेको छ । भारतले नेपाली भूमी मिचेर लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको हो । भारतका रक्षामन्त्री राजनाथ सिंहले चीनको भूमिसँग जोड्ने गरी निर्माण गरेको पूर्वाधार लिपुलेक सडकको शुक्रबार उद्घाटन गरेका छन् ।
भारतको उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रमा नेपाली भूमी मिचेर लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको हो । यो सन् १८१६ को सुगौली सन्धि विपरित पनि हो । सन्धी अनुसार काली (महाकाली) नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो ।
रक्षामन्त्री सिंहले कैलाश मानसरोवर जोड्ने गरी निर्माण गरिएको बहुप्रतिष्ठित सडकको शुक्रबार भिडियो कन्फ्रेन्समार्फत रक्षामन्त्री सिंहले उद्घाटन गरेको उल्लेख गरोक छन् । मानसरोवर यात्राको लिंकरोडको उद्घधाटन गर्न पाउँदा खुशी छु’, उनले ट्विटमा भनेका छन्, ‘बिआरओ (बोर्डर रोड अर्गनाइजेशन) ले धार्चुलादेखि लिपुलेक चीन सीमासम्म कैलाश मानसरोवर यात्रा मार्गको रूपमा चिनिने सडक जोडेको छ ।’ नेपाल भारत लिपुलेकका विषयमा विवाद टुङ्गिन नपाउँदै भारतले लिपुलेकसम्मको सडकको उद्घाटन गरेको हो । कुटी, कालापानी, नाभीढाङ हुँदै लिपुलेक क्षेत्र नेपाली भूमि हो । सीमा अतिक्रमणको विषय टुङ्गिन नपाउँदै भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेपछि विरोधसमेत भइरहेको छ ।
चीनको सीमा क्षेत्रसम्म निर्माण गरिएको यो सडक व्यापारिक दृष्टिकोणले समेत प्रभावकारी भएको बताइएको छ । यसअघि भारतको तावाघाटदेखि व्यापारी र स्थानीयवासीले खच्चर र भरियामार्फत सामान ढुवानी हुँदै आएको थियो । अब सडक निर्माणसँगै व्यापारीले पैदल हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको उल्लेख गरिएको छ । भारतीय व्यापारीले चीनको सामान आयातनिर्यातका लागि तावाघाटबाट गुञ्जीसम्म पैदल हिँड्नुपर्ने बाध्यता हटेको छ । यसअघि धार्चुलादेखि गर्वाधारसम्म ४५ किलोमिटर दूरीमा मात्र सवारीसाधन चल्ने गरेको थियो । त्यसभन्दा माथिल्लो क्षेत्रमा व्यापारी र सर्वसाधारणको पैदलयात्रा तय गर्नुपर्ने बाध्यता थियो ।
भारत पिथौरागढको धार्चुला गर्वाधारदेखि माल्पा १० किलोमिटर, माल्पाबाट बुँदी नौ किलोमिटर, बुदीबाट गुंँजी १८ किलोमिटर, गुंजीबाट कालापानी आठ किलोमिटर र कालापानीबाट नाभीढांग आठ किलोमिटरसम्म स्थानीयवासीको पैदलयात्रा हुने गरेको थियो भने नाभीढांगबाट चीनको ताक्लाकोट पुग्न २५ किलोमिटर दूरी छ । भारतले कूल ७८ किलोमिटर सडकको ट्र्याक खुलाएको हो । भारतले चीनको सीमासँग जोड्ने गरी सडक निर्माण गरेको यो पहिलो सडक हो । तावाघाटदेखि लिपुलेकसम्मको सडकको ट्र्याक खुलेसँगै अब भारतीयको पैदलयात्राको अन्त्य भएको भारतीय अनलाइन संस्करणले जनाएका छन् । उता चीनले लिपुलेकसम्म सन् २००८ मा सडक ल्याएको छ।
काँग्रेसद्धारा सरकारको धाराणा मााग
भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको धारणा माग गरेको छ । शुक्रबार काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटरमा प्रधानमन्त्रीलाई मेन्सन गरी सरकरको धारणा माग गरेका हुन् । ‘लिपुलेक नेपालको भुमि हो, हामी प्रष्ट छौं । चीनको मानसरोवर जोड्न भारत सरकारले लिपुलेक हुँदै सडक उद्घाटन गरेको समाचार बारे नेपाल सरकारको धारणा चाहन्छौं ?,’ प्रधानमन्त्री ओलीलाई प्रवक्ता शर्माको प्रश्न छ । उनले थपेका छन,’ नेपाली भूभागबारे उच्चस्तरीय कुटनीतिक पहलमार्फत दीर्घकालीन समाधान खोज्न, सरकारको दायित्व पुनः स्मरण गराउँदछौं ।’ नेपाली पक्षसँग कुनै सल्लाह नगरी निर्माण गरिएको उक्त सडकको शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् । यता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले सडकमार्ग खुला गरेको विषय आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।