विगत १२ वर्षदेखि अष्ट्रेलियाका बालबालिकाका लागि काम गर्दै आएका नारायण पन्थीको एकदिन दिमागमा आयो, ‘मैले परदेशमा यति काम गरिसकेको छु भने आफ्नो जन्मभूमिमा केही चिज किन नगर्ने ?’
यही विचारबाट निर्देशित भई उनी नेपालका पूर्वप्रथमिक तहको बालबालिकाको अवस्था अध्ययन गरिरहेका छन्् । अष्ट्रेलियाका बच्चाहरुलाई सिकाउने र बच्चाका साथसाथै शिक्षक र आमाबाबुलाई पनि तालिम दिन्छन् उनी ।
नेपालका ५६ बालबालिकाका अभिभावक र १० वटा स्कुलमा अनुसन्धान गरेर उनले यो रिपोर्ट तयार पारेका हुन् । यस रिपोर्टले अन्तराष्ट्रिय स्तरमा पूर्वप्राथमिक तहको शिक्षामा हामी कुन स्थानमा छौँ ? भन्ने देखाएको छ । हामीले फरक काम नगरे कसरी हाम्रा बच्चाको आत्मविश्वास बढ्छ भन्ने विचार राखेर उनले उक्त अनुसन्धान सुरु गरेका हुन् । पन्थीसँग उनले गरेको अनुुसन्धानको बारेमा रातोपाटीका लागि सुनिता न्यौपानेले अन्तर्वार्ता तयार पारेकी छिन्
तपाई अष्ट्रेलियाबाट नेपाल के का लागि आउनुभयो ?
नेपालमा पूर्वप्राथमिक स्कुलको शिक्षा प्रणालीको अध्ययन गर्न भनेर आएको हुँ । ६ महिनादेखि ५ वर्षका बच्चाहरुको शिक्षाको अवस्थाको बारेमा अध्ययन गर्ने हुटहुटीले मलाई नेपाल ल्यायो ।