काठमाडौं, १४ वैशाख । आइतवार दिउँसो नेकपा वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा उनी निकट समूहको भेला भएको छ । अध्यादेश प्रकरणपछि नेकपाको आन्तरिक राजनीतिमा आएको अभूतपूर्व उतारचढावसँगैको उक्त भेलालाई अर्थपूर्ण मानिएको छ ।

प्रचण्डसमेत पुगेका आजको भेलामा घनश्याम भुषालबाहेक नेपाल निकट स्थायी समितिका अधिकाम्श सदस्यको उपस्थिति थियो । भुषाल भने पूर्वनिर्धारित अर्को कार्यक्रमका कारण अनुपस्थित रहेको बताइएको छ ।
प्रधानमन्त्री एक्लैको निर्णयबाट उत्पन्न वर्तमान असहज परिस्थितिलाई पार लगाउन नेता नेपालले नेतृत्वदायी भूमिका खेल्नपर्ने भनी नेकपा अध्यक्ष प्रचण्डले गरेको आग्रहलाई उपस्थित सबैले समर्थन गरेका थिए ।
सहभागीहरूले अध्यादेश फिर्ता भएपनि त्यसबाट उत्पन्न गम्भीर विषयमा गहन ढंगले छलफल गर्दै अगाडिका विकल्पबारे दृढताकासाथ अघि बढ्न पनि नेपाललाई आग्रह गरेका छन् ।
सरकारको पछिल्लो कामको समीक्षा गर्न तत्काल सचिवालय, स्थायी समिति र केन्द्रीय समितिको बैठक बोलाउनुको विकल्प नभएको धारणासमेत सहभागीहरूले राखेको बुझिएको छ ।
भेलामा एमाले उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली, अस्टलक्ष्मी शाक्य, महासचिवमा ६ भोटले पछि परेका सुरेन्द्र पाण्डे, बेदुराम भुसाल, पर्यटन मन्त्री योगेश भट्टराई, रघुजी पन्त, भीम आचार्य, मुकुन्द न्यौपाने, गोकर्ण बिष्टलगायतको उपस्थिति थियो । -जनआस्था