गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको संक्रमणबाट जोगिन गरिएको लकडाउन खोल्न तत्काल हतार गर्न नहुने बताएका छन् । भारतमा संक्रमितको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपालमा पनि तत्काल लकडाउन नखोल्नु उपयुक्त हुने उनले बताएका हुन् ।
अन्य देशहरूको पनि अभ्यासलाई हेरिनुपर्नेमा उनको जोड थियो । चीनमा सचेत हुँदा अवस्था जटिल हुन नपाएको, तर इटली र अमेरिकामा संक्रमण बढिरहेकोतर्फ हाम्रो ध्यान जानुपर्ने उनले बताए ।
पोखरामा शनिबार मुख्यमन्त्री कार्यालयपरिसरमा भएको पत्रकारहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् । सरकारले देशभर लागू गरेको लकडाउनको अवधि सकिने लाग्दा उनले यस्तो धारणा राखेका हुन् । उनले विकास निर्माण र उत्पादन क्षेत्रलाई भने सुरक्षाका सबै विधि अपनाएर खुला गर्दै लकडाउन कायम राख्नुपर्ने बताए ।
‘उत्पादनको क्षेत्रमा निश्चित विधि अपनाएर सामाजिक दूरी कायम गर्दै विकास निर्माणलाई पनि अब बिस्तारै अगाडि बढाउनुपर्छ,’ उनले भने । मुख्यमन्त्री गुरुङले लकडाउन कायम राखेर विकास निर्माण र उत्पादन खुलाउनेबारे प्रदेशका उद्योगी र निर्माण व्यवसायीसँग समेत छलफल चलाएको जनाए ।
छलफलमा उनीहरूले प्रदेशको प्रस्ताव सकारात्मक रहेको र त्यसका लागि आफूहरू तयार रहेको बताएको उनले जानकारी दिए । ‘हामीले केही दिनदेखि विकास निर्माण र उत्पादनलाई खुला गर्नेबारे उद्योगी तथा निर्माण व्यवसायीसँग छलफल गरिरहेका छौँ,’ उनले भने, ‘उहाँहरू पनि हाम्रो प्रस्तावमा सकारात्मक हुनुहुन्छ, खुलाउन तयार हुनुहुन्छ ।’
उद्योगहरू खुलाइसकेपछि आवश्यक पर्ने कच्चा पदार्थ भने सहज रूपमा ल्याउन पाउनुपर्ने उनीहरूको माग रहेको मुख्यमन्त्रीले उल्लेख गरे । तर, त्यसरी सामान ओसारपसार गर्दा भाइरस संक्रमण नियन्त्रणका उपाय (स्यानिटाइजिङ) अप्नाउनुपर्ने उनको धारणा छ । मुख्यमन्त्री गुरुङले अन्य प्रदेशमा लकडाउन कायम राखे पनि गण्डकी प्रदेशमा भने केही खुकुलो बनाउन सकिने बताए ।