वाग्मती नदीलाई मुहानदेखि नै स्वच्छ बनाउने अभियानअन्तर्गत गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रबाट फोहर हाल्न नदिने गरी व्यवस्था गरिएको छ ।
नदीमा हालिने कुहिने फोहरलाई कम्पोष्टविनमा राखी मल बनाउने अभियान शुरु भएको हो । गोकर्णेश्वर महादेव मन्दिरमा लाग्ने वर्षकै ठूलो मेलाका अवसरमा गत वर्षदेखि यस्तो अभियान शुरु गरिएको थियो ।
मुहानदेखि नै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले यो उदाहरणीय काम शुरु गरेको हो ।
मञ्चले आज २८९ औँ हप्ताको सफाइ गोकर्णेश्वर महादेव मन्दिर परिसरमै गरेको छ । भदौ ११ गते गोकर्णे औँसीको तयारीस्वरुप मन्दिर क्षेत्रमा सफाइ गरिएको मञ्चका अध्यक्ष उत्तम पुडासैनीले राससलाई जानकारी दिए ।
गत वर्ष मञ्चले भाद्र कृष्ण औँसीका दिन एउटा पनि टपरी नदीमा फाल्न नदिई कम्पोष्टविनमा राखेको थियो । त्यो कम्पोष्टविन आज खोलेर हेर्दा दुई ट्रक कम्पोष्ट मल जम्मा भएको भेटियो । यो सबै क्षेत्रका सफाइ अभियानकर्मीका लागि उदाहरण हुनसक्छ ।