पोखरा
नेपाली कांग्रेसको अबरोधले गण्डकी प्रदेश सभा बैठक लगातार ४ दिन स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्वाचन पूर्वाधार विकास क्षेत्र कार्यक्रम एकलौटी ढंग बाट बडिएको र संसद सचिवालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको बारे आपत्ति जनाउँदैे आइतबारको बैठक पनि अवरुद्ध गरेको हो । कांग्रेसले यस अघिका तिन वटा बैठक चल्न नदिई अवरुद्ध गरेको थियो कांग्रेसले अवरोध सिर्जना गरेपछि सभामुखले लगातार बैठक अर्को दिनलाई सार्दै आउनुभएको छ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रम सञ्चालन कार्यविधिमा सबै सांसदलाई समान हैसियत दिएको भए पनि सहमतिमा योजना कार्यान्वयन हुन नसकेको क्षेत्रमा मुख्यमन्त्रीको एकल निर्णयले टुंगाएको आरोप कांग्रेसको छ ।
तनहुँ क्षेत्र नम्बर १ को क, पर्वत क्षेत्र नम्बर १ को क, बागलुङ क्षेत्र नम्बर १ को क र नवलपरासी सुस्ता पूर्व क्षेत्र नम्बर १ को ख मा निर्वाचन क्षेत्र विकास कार्यक्रमको योजना र बजेट बाँडफाँटमा सांसदबीच सहमति हुन नसक्दा विवाद उत्पन्न भएको छ ।
सांसदबीच सहमति हुन नसकेको अवस्थामा अन्तिम निर्णय मुख्यमन्त्रीले गर्ने कार्य्विधिमा व्यवस्था छ । मुख्यमन्त्रीले त्यहीँ कार्यविधिमा टेकेर योजना टुंगाउनुभएको थियो तर कांग्रेसले बिरोध गर्दै आएको छ ।
संसद सचिवालयसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा पनि कांग्रेसले आपत्ति जनाउदै आएको छ । संसद सचिवालय सम्बन्धि विधेयकमै निर्देशन समिति रहने गरी आएको र समितिको सदस्य सचिव राजनीतिक नियुक्तीबाट आउने सचिवले तोकेको व्यक्ति हुने व्यवस्था अमान्य हुने कांग्रेसको भनाइ छ । कांग्रेसले निर्देशन समितिमा सर्वदलीय प्रतिनिधित्व हुनुपर्ने माग गर्दै आएको छ ।