शुक्रबार, असार १४ गते २०८२

घुम्टेको धुरी पुगेर हेर्दा

घुम्टेको धुरी पुगेर हेर्दा

अखबार दैनिक
शनिबार, फागुन २४ २०७६
  • सज्जन कुमार सिंह   यतिखेर म जिल्लाकै अग्लो १० हजार फिटमाथि घुम्टे धुरीमा छु र यी शव्दहरु लेखिरहँदा म निकै भावुक बनेको छु । किनकी प्रकृतिले मान्छेलाई निकै खुसी र दुःख दुवै दिँदो रहेछ भन्ने भान मलाई लागिरहेको छ । घुम्टे लेकले एउटा आनन्ददायी खुसी दिएको छ यतिखेर । मलाई चार्लि स्टेइडको भनाई याद आइरहेको छ । उनले भनेका थिए– “ तिमी आफ्नो सपनालाई पहाडभन्दा अग्लो बनाउ अनि मात्र तिमीले त्यसको शिखर चुम्न सक्छौ ।” १० हजार फिटमाथि म पहिलोपटक चढेको छु । मलाइ लाग्छ यो घुम्टे चढ्नुभन्दा कैयौ कठिन छ जीवनका पहाडहरु चढ्न । जसलाई हामी सबैले जसरी पनि चढ्नु पर्छ । यो तिन घण्टाको पैदलयात्राले जीवनका पहाडहरुबारे पनि पाठ घोकाएको छ । यहाँ बेगले हावा चलेको छ । यति अग्लो ठाउँबाट बहेको हावालाई फोक्सोले निकै आनन्द मानेर तान्ने छोड्ने गरेको छ । लाग्छ आज मभन्दा बढि खुसी मेरो फोक्सो भएको छ । हावा जस्तै मनका भावर इच्छाहरु पनि चलिरहेका छन् । त्यी हावाका झोक्का घुम्टेका छातीमा ठोकिन्छ र एउटा आँधी आएजस्तो आवाज निस्किन्छ । केही झोक्का हावाले हामीलाई पनि छुदै भागेको छ । हावाका झोक्काले थकित शरीरमा नयाँ ताजगीको प्राण भरिदिएका छन् । यहाँको बादल निकै चञ्चले छ । यो बैशालु बादल हो । उ क्षण क्षणमा आफ्नो स्वरुप फेरिरहेको छ । क्षणभरमै घुम्टेलाई ढाकिदिने अनि केही बेर घुम्टो खोलिदिने । यहाँ छिनछिनमा बादलले मैले हेरेका दृश्यलाई रोकिदिएको छ मानै उ हाम्रा आँखाको पर्दा बनिरहेको छ । यस्तो पनि लागिरहेको छ कि यहाँ बादल र घुम्टे लुकामारी खेलिरहेका छन् अनि सानो घुम्टे र ठुलो घुम्टे चोर पुलिस । यो ठाउँ हजारौ मान्छे पुगिसके तै पनि आज भने हामी दुई (लेखक र सन्तोष क्षेत्री) जना मात्र यहाँ छौ र हामीसँग यहाँको प्रकृति छ । हामी दुई जना मात्र आएको भएर पनि यतिखेरको प्रकृति केवल हामी दुईको मात्र हो भन्ने लागिरहेको छ । माथि उक्लिदै गर्दा सुर्यको पहिलो किरणले घुम्टेको शिरलाई चुम्बन गर्दोरहेछ जसलाई हामीले हेर्ने अवसर पायौ, यस्तो दृश्य जीवनमा विरलै मात्र देख्न पाइन्छ । यहाँ दुई घण्टा बिताउँदा मनभित्र अनेकौ आवेगहरु सल्बलाइ रहे । घुम्टे सिर्जना सिकाउने पहाड रहेछ । यो त प्रकृतिको पनि गुरु रहेछ । आहा घुम्टे गुरु । यहाँ बसिरहँदा केही गुन्गुनाइरहुँ जस्तो लाग्ने, कसैलाई सम्झिएर कविता लेखु जस्तो लाग्ने बनाउँदो रहेछ र साथी सन्तोषलाई मोबाइलमा फोटो खिच्न भनिदिए गुन्गुनाएर ‘बादलुको घुम्टोले घुम्टे शिर छोपिदा, मैले सबलाइ बिर्सेछु तिमीलाई सम्झिदा ।’ यहाँको चिसो हावाले धेरैलाई कलाकार बनाइदिएको पनि त छ । बैशाख पुर्णिमा यो घुम्टेलाई धेरैले चढ्ने बारे सुनेको छु । घुम्टेको पहाड चढ्दा दुःख निकै हुँदोरहेछ । डरलाग्दा भिरबाट कतै खसिन्छ कि भनेर आङ सिरिँग हुँदोरहेछ । म पनि केही ठाउँमा डराए, कतै यहिँबाट खसिन्छ कि जस्तो पनि लाग्यो । यहाँ आउने पैदलबाटो राम्रो छ । भिरमा पनि दुःख गरेर बाटो बनाईएको छ । तर, बिसौनीहरु भेट्याउन मुस्किल रहेछ । यहाँ कतै पनि पानी रहेन छ । हामीले दुईवटा मिनिरल वाटरका बोतलका पानी हालेका थियौ । एउटा बोतल यहाँसम्म आउँदा सकियो र एउटा चाहिँ झोलामा छ । यस्तो लाग्यो । यो उत्कृष्ट खुट्टे मार्गमा अझै राम्रो बाटो, खानेपानी र ठाउँठाउँमा बिसौनीसहित विभिन्न ठाउँ र दुरीको संकेतहरु भैदिए यहाँ फिर्न चाहनेलाई कति गज्जब हुन्थ्यो होला ? घुम्टेको उकालोे चढ्दा दुःख भुलाउन गीत गाइन्थ्यो’रे भन्ने सुनेको थिए । नभन्दै यहिँ घुम्टे चढ्दा तरुना तन्देरीले घुम्टे साइलोलाई नवीन राना र जुना श्रीसले आफ्नो स्वर भरेर छाताछुल्ल पारिदिएका रहेछन् । “आहा डाँडै चिरी कुलो ल्यायौ, आहा होला भनी खेत साइली आहा, कामकार्जेले टाढाटाढा, आहा जुग मेसाले भेट साइली ।” घुम्टे हेरेरै हुर्किएकी गायिक देवी घर्तिले आफुलाई घुम्टेकी छोरी गीत, भनेर चिनाइन् । यहाँबाट ठिक अगाडि रहेको गाजाको धुरी घुम्टेको छिमेकी पहाड जस्तो देखिदोरहेछन्, गायक सर्जक बसन्त थापाले त्यसैले त ‘वारी घुम्टे पारी गाजा’ भनेर गाएका हुँदाहुन् । उक्त गीतलाई युट्युबमा सर्च गरेर घुम्टेको शिरमै बसेर सुनियो अनि दुई जना नाचियो पनि । किनकी यतिखेर घुम्टे धुरीमा नमस्तेको फोरजीले निकै राम्रो काम गरेको थियो । कोरिया हुँदा जापानलाई कर्मथलो बनाउनुभएका गल्कोटे गायक रामकृष्ण बम मल्लको घुम्टको मस्ती र सम्झनाको गीत गाएको सुनेको थिए, लाग्यो यहाँका ढुंगाहरु यहाँको पर्यावरणलाई एक पटक यहाँ आउनेले जीवनभर भुल्दैनन् ।   यतिबेला घडिको सुई बिहानको साढे ९ मा छ र मेरो मनको सुई कल्पनाका अँकहरुमा घुमिराखेको छ । यहाँ पथ्थरमाथी दुइवटा मन्दिर सिद्ध भैरव छन् । यी दाजुभाइ हुन् । यी मन्दिमा पुजा गर्ने र भाकल गर्ने किँवदन्तीले पनि यहाँ आउने चाहना बढ्दो रहेछ । यी मन्दिरमा ढोका खुला छन् अनि पुजा गरिएका सामग्री, धुप अनि चढाइएका भेटी पनि हावाले उडाएर यत्रतत्र भएका छन् । एक बण्डल सानाठुला घण्टी उखलेर मन्दिर परिसर छेवैमा फ्याकिएको छ । मानौ कि घण्टीलाई बज्न पनि झ्याउ लागेको छ । मन्दिरको अगाडि एउटा खम्बा छ र खम्बामा सोलारको लाइट जोडिएको छ । रातमा घुम्टेलाई चिनाउन त्यो लाइटले भुमिको खेलेको छ । यहाँ आउनुभन्दा अघिल्लो राती यहिँ प्रकाशले घुम्टेलाई सँकेत गर्दै बलेको थियो । टेउवाबाट हेर्दा यो बत्ति आकाशमै लुकिरहे जस्तो लागेको थियो । मन्दिरको तलपट्टि एउटा सत्तल छ । सत्तलको छानाबाट खसेको पानी जम्मा गर्न एउटा हिलटेक राखिएको छ तर त्यो आधा जति भरिएको पानी पनि धमिलो छ । त्यहि सत्तल काला अँगारयुक्त छ । सत्तलको अगाडि एउटा चरा मरेर कुहेको छ । भिरको पल्लो पट्टि मन्दिर साइडमा फराकिलो ठाउँ छ । त्यही भागमा साना झाँडी र ठुला रुखहरु पनि छन् । त्यी फराकिलो चउर हिउँले ढाकिएको छ । चैत्र महिनाको मुखमा पनि यस्तो दृश्य देख्दा मलाई चाहिँ खुसीले ढाकिरहेको छ । पहाड हिउँले अनि मन खुसीले ढाकिँदा कस्तो मस्ति हुन्छ भन्ने अनुभुति यतिखेर मसँग बसेको छ । मन मनले सोचिरहेको छु कि यो ठाउँ पर्यावरणीय अध्ययन केन्द्र बन्न सक्छ कि ? यताउता आँखा डुलाउँदा डुलाउँदै म रनभुल्लमा छु । साथी सन्तोष भने फोटो खिच्नमा व्यस्त छन् । उकालो बाटो र भिरहरु छिचोल्दै यहाँ आउँदा मेरा खुट्टा निकै दुखेका छन् । शरीरमा तागत छैन किनकी बिहानै यो पहाड चढ्न भनि म र मेरो साथी सन्तोष पहाडतिर हानिएका थियौ । यो पहाड चढ्ने धेरै बर्षको योजना सफल भएको थिएन, साथी तथा पत्रकार राम अविरलले पोहोर यो पहाड चढ्न भनि ल्याएका थिए तर हामी पहाड चढेर फर्कने दिनमा बल्ल यहाँ आउने योजना बनाएका रहेछौ, त्यो बेला हाम्रो क्यालेन्डरले फेल खायो अनि हटियाबाट फर्कियौ । यहाँको प्राकृतिक अनुपम बरदान देख्न र रमाउन पाउँदा म निकै खुसी भएको छु । निकै डरलाग्दो भिमकाय पहाडको माथि पथ्थरहरु छन् । ती पत्थरहरु पनि उड्न तयार भएका जहाज जस्ता छन् र प्रायः ती ढुँगाहरु पनि भिरतिर फर्केर बसेका छन् । गल्कोटको फाँटबाट ठँडिएका यी दुई सानो घुम्टे र ठुलो घुम्टेमा चढ्ने क्रम धेरै पहिलाबाट भएपनि यी पहाडले गल्कोट उपत्यका बाहिर चर्चा पाउन थालेको धेरै भएको छैन । यहाँ चढ्न धेरै पहिलाबाट थालियो तर प्रचारका हिसाबले २०६३ सालपछि मात्र यसको महत्वलाई सतहमा ल्याउने काम यहाँका उर्जाशिल युवाहरु र घुम्टे पर्यटन केन्द्रले गरिदियो । यो ठाउँमा गल्कोट लालीगुराँस महोत्सव राखियो, त्यस्तै पदमार्ग निर्माण, मन्दिर निर्माण गरि व्यवस्थित गरियो । गल्कोट दोस्रो घुम्टे महोत्सव पनि हालै सम्पन्न भएको छभने घुम्टेलाई चिनाउन, घुम्टे म्याराथुन दौड पनि गरिएको छ । यहाँबाट तलतिर केहि गुराँसहरु फूलेका छन् । केही फुल्न तयार भएर बसेका छन्, पड्कन तयार बन्दुक जस्तै । आहा ! यो ठाउँ त अनेकै प्रजातीका लालीगुराँस (सेता, राता, गुलाबी, कलेजी) फूल्ने ठाउँ पनि रहेछ । जापानमा साँकुरा जस्तै यो भेगमा फूल्ने यी विविध प्रजातीका लालीगुराँस सँग खेल्ने पर्यटक यी फूलहरुले खोजेका छन् । यस्तो लागेको छ, यो ठाउँ हाम्रो राष्ट्रिय फूल लालीगुराँसको संरक्षण र अध्ययन केन्द्र पनि बन्न सक्छ । तलबाट माथि उक्लिदा धेरैथरि गन्ध नाकको बाटो भएर शरीरभित्र पसेका थिए । यहाँका विषका रुखहरु पनि हुन्छन् भन्ने सुनेको छु । यो ठाउँमा अवश्य पनि जडिबुटि छन् । यहाँ चिराइतो, पाँचऔले, हनुमानवीर, गुजरगानो, परचचाल्नो, सतुवा, रातोमुला जस्ता धेरै जडिबुटि छन् भन्ने पनि सुनेको छु । यी जडिबुटिको सँरक्षण र त्यसलाई सहि पहिचान गर्न सम्बिन्धित निकाएको ध्यान जाहोस् भन्ने पनि लागिरहेको छ । बिहान लाइट बालेर हिँडेका हामीले शौच गरेका थिएनौ, साथी सन्तोषले जँगलमै शौच गरौ भन्यो तर अप्ठ्यारो लागेपनि अन्ततः हामीले जँगलमै शौच गरियो, त्यहिँ नजिकै कतैबाट छ्यास् छुस् आवाज आयो, यसो घोरिएर हेरेको त्यो कालिज थियो । साथीले पनि हाँसो गर्दै भने– ‘आज कालिजलाई राम्रो चारोको व्यवस्था हुने भयो ।’ बाटो काट्दा चराका धेरैथरि आवाजले कानलाई आनन्द दिन्थ्यो । कालिज, डाँफे, मुनाल काडेभ्याकुर, चिवे, लामपुच्छ्रे, कस्तुरी मृग, थार, भालु, घोरल, चित्तल आदिले यहाँको पर्यावरणलाई अझै धनी बनाएको हुनुपर्छ । यो ठाउँ उच्च पहाडी भेगमा पाइने, चरा र बन्यजन्तुको अध्ययनको लागि पनि महत्वुपर्ण हुन्छ कि भन्ने मलाई लागिरहेको छ । यहाँबाट देखिने हिमाल अनि पहाडको मनोमहक दृश्यले यो ठाउँ सुटिङका लागि पनि उपयुक्त लागिरहेको छ । चिसो हावाले हातखुट्टा सबै कठ्याग्रिएका छन् । छिनछिनमा घाम पनि लाग्छ । केहिछिनमै पानीका छिटा पनि पर्छन् । कति कतिबेला मन डराएको छ, कतै पानीले यतै रुझाउछ कि । मोबाइलमा व्याट्री सकिसकेको छ । साथी सन्तोषले फेसबुकबाट लाइभ हान्दै छन् । दुई घण्टाको घुम्टे लेकको सामिप्यलाई विट मार्दै एउटा चाउचाउ र पानी पिएर पुनः बैशाख पुर्णिमामा भेट्ने बाचा गर्दै तल झर्न थालियो । ओराली झर्दा खुट्टा अझै कापिरहेका थिए । बीच बाटोमा फाट्टफुट्ट पानी परेपनि अन्तराष्ट्रिय मुर्तिकला स्थल टेउवामा रहेका पत्रकार साथीहरुले पानी नआएको बताए । घुम्टेले यहाँको पर्यावरणलाई ह्याडल गरेको रहेछ भन्ने लाग्यो । बीचबीचमा बस्न मिल्ने ओडार थिए, तीनलाई व्यवस्थि गर्ने हो भने अझै छुट्टै खालको अनुभव बटुुल्न सकिने ओडार घरबास पनि सन्चालनमा ल्याउन सकिन्छ कि भन्ने लाग्यो । दुई घण्टामा टेउवा आइसकेपछि मुर्तिसँग रमाइयो । एकजना मुर्तिकारले त घुम्टेलाई नै मुर्तिमा उतारेका थिए । सोहि कार्यशालामा राज थापा दाइसँग भेट भो उहाँले घुम्टेबारे धेरै किस्सा सुनाउनु भयो । घुम्टे चढ्न पाण्डवखानी, हरिचौर, रिघाबाट तिनवटा रुट रहेको जानकारी पाइयो । एकजनाले टेउवाबाट घुम्टेसम्म केबलकार हाल्ने हल्लाबारे पनि बताउनुभयो । तर, मेरो अभिमत अलि फरक छ । त्यो ऐतिहासिक घुम्टेको महत्वलाई सधै कायम राख्न, पैदलमार्गको रुपमा विकास गर्नुपर्छ । केबलकारले केहि व्यक्तिलाई आर्थिक लाभ भएपनि यसको गरिमा अनि यो पहाड चढ्दा हुने शारीरिक कसरत, पैदलमार्गको मज्जा अन्य तरिकाले पाउन सकिन्न ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ