,पोखरा
विपक्षीदलका सांसदहरुले गण्डकी प्रदेशको विहिबारको प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । आफूहरुले उठाएको प्रश्नको मुख्यमन्त्रीले जवाफ नदिएको भन्दै विपक्षी सांसदहरुले संसद अवरुद्ध गरेका हुन् ।
बिहीबार भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत र सामाजिक विकासमन्त्री नरदेवी पुनले विभिन्न मितिमा शुन्य र बिशेष समयमा सांसदले उठाएको प्रश्नको मन्त्रालयसँग सम्बन्धित जवाफ दिनुभएको थियो । त्यस लगत्तै सभामुख अधिकारीले सामाजिक विकास मन्त्री नरदेवी पुनलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठान गठन तथा सञ्चालन सम्बन्धी विधेयकको सैद्धान्तिक छलफलका लागि प्रस्ताव राख्न अनुमति दिएपछि विपक्षी सांसदहरुले अवरोध गरेका हुन् ।
मुख्यमन्त्रीबाट जवाफ नआएको भन्दै समाजवादी पार्टीका सांसद हरिशरण आचार्यले नियमापत्ति गरे लगतै सभामुख नेत्रनाथ अधिकारीले सरकारलाई रुलिङ गर्ने आश्वस्त पार्नुभएता पनि विपक्षी सांसदहरु उठेर विरोध जनाएपछि विहिबारको संसद चल्न सकेन ।
आजको बैठकमा मुख्यमन्त्रीको अनुपस्थिती रहेको थियो ।