स्याङ्गजा । स्याङ्गजा जिल्लाको आँधीखोला गाँउपालिका वडा नं. ५ रगेठाँटी स्थित श्री प्रद्युम्न पनेरु माध्यमिक विद्यालयमा आर्थिक हिनामिना भएको खबर बाहिरिएको छ । २०७५ चैत्र १४ गते विद्यालयले स्वर्ण महोत्सव मनाउने क्रममा विभिन्न ब्यक्ति, संघ, संस्थाबाट विद्यालयको कम्पाउण्ड, गेट निर्माण, पुस्तकालय, स्वर्ण महोत्सवको खर्च लगायत विभिन्न ब्यवस्थापनका लागि भनेर लाखौ रुपैया उठाएको थियो ।
उक्त रकमको खर्च फर्छौट गर्ने क्रममा लाखौं रुपैयाँ प्रधानाध्यापक दिप्ती नारायण शर्मा, विद्यालय व्यस्थापन समितिका अध्यक्ष ख्यामनारायण देवकोटा, विद्यालय व्यस्थापन समितिका पूर्व अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष कृष्ण पनेरुको मिलेमतोमा आफू खुशी जबरजस्ती विद्यालयका लेखापाललाई फर्जी बिलको भरपाई पेश गरी फछ्र्यौट गर्न दबाब दिएपछि अनियमितता गरेको कुरा बाहिरिएको हो ।
स्वर्ण महोत्सवको खर्चको बिलमा चिया नास्ताको बिल बनाउदा मासु नै नबेच्ने पसलबाट मासु खरिद गरेको बिल साथै विभिन्न ठाउँका विभिन्न खर्चको बिल एकै ठाउँबाट बनाइ एकमुष्ट पेश गरेपछि लाखौं रुपैया भष्टाचार भएको खुलेको हो । यस सगै विद्यालयमा भएका अरु विभिन्न हिनामिनाका काण्डहरु पनि बाहिरीएका छन् ।
प्रधानाध्यापक दिप्ती नारायण शर्मा, विद्यालय व्यस्थापन समितिका अध्यक्ष ख्यामनारायण देवकोटा, पूर्व विद्यालय व्यस्थापन समितिका अध्यक्ष तथा हाल वडा नं. ५ का वडा अध्यक्ष कृष्ण पनेरुको मिलेमतोमा विद्यालयमा शिक्षा ऐन, नियमावली विपरीत साविक विज्ञान र गणित बिषयको दरबन्दी परिर्वतन गरी नेपाली बिषयको शिक्षक नियुक्ती गरेको, विद्यालयको दुईवटा भवन लगायतका भौतिक संरचना निर्माणमा २० प्रतिशत कमिशन लिई ठेक्का दिई कमसल, मापदण्ड विपरित निमार्ण कार्य गरी सम्पन्न गरेको, विद्यालयमा कृषिका सामग्री खरिद र टनेल निर्माणमा ब्यापक अनियमितता गरेको पाईएको हो ।
यि लगायतका विभिन्न कमिशनका बिषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको थियो । भ्रष्टाचारको राय प्रतिक्रिया सहितको छानविन प्रतिवेदन उपलब्ध गराउने सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले २०७६ पुस १० मा आँधीखोला गाउँ पालिकाको कार्यालय स्याङ्गजालाई पत्राचार गरेको थियो ।