काठमाडौं । भारतमा १२ सय भन्दा बढी प्ले स्कुलहरुको फ्रेन्चाईज रहेको बचपन प्ले स्कुलले नेपालमा पनि पठनपाठनको औपचारिक सुरुवात गरेको छ । डिजिटल प्रविधिबाट बालबालिकाहरुलाई अध्ययन गराउने बचपनको खुला विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा.लेखनाथ शर्माले औपचारिक उद्घाटन गरेका हुन् । कार्यक्रममा चर्चित कलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ ले बचपनले शिक्षा क्षेत्रमा नयाँपन दिने विश्वास व्यक्त गरे ।
काठमाडौंको चुनदेवीबाट सुरु भएको विद्यालयले विभिन्न शहरहरुमा यसको फ्रेन्चाईजमार्फत विद्यालय संचालन गर्ने विद्यालयका अध्यक्ष हरि प्रसाद देवकोटाले जानकारी दिए । ‘नेपालका बालबालिकालाई अत्याधुनिक प्रविधिमार्फत शिक्षा दिनका लागि यसको सुरुवात गरेका हौं ।’ स्कूलका प्रमुख कार्यकारी अधिकृत शक्ति सिंह निर्वाणले जानकारी दिए ।
स्कुलका संचालक मधुसुधन पाठकका अनुसार बचपनमा पढाई हुने पुस्तकहरु कलम आफैं बोल्ने र बालबालिकाहरुलाई सिक्ने वातावरणमा यसले नयाँपन दिने बताए ।
उद्घाटन कार्यक्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुुुस सुन्तली फाउण्डशेनलाई स्कुलको तर्फबाट ५१ हजार र कृति क्राफ्टको तर्फबाट ३१ हजार रुपैयाँ प्रदान गरिएको थियो । बचपनलाई नेपालमा हरि प्रसाद देवकोटा, शक्ति सिंह निर्वाण, मधुसुधन पाठक, चक्र थापा, परम लिम्बु र रा लिम्बुले संचालनमा ल्याएका हुन् ।