शुक्रबार, कात्तिक ३० गते २०८२

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

अखबार दैनिक
शुक्रबार, कात्तिक ३० २०८२
  • अर्जुनधारा जलेश्वरधाममा महायज्ञ सुरु

    पूर्वको पशुपतिनाथको नामले प्रसिद्ध अर्जुनधारा जलेश्वरधाममा ४३औँ वार्षिक अनुष्ठानका रुपमा महायज्ञ सुरु भएको छ ।अर्जुनधारा नगरपालिका–७ मा रहेको जलेश्वरधाममा सुरु भएको महायज्ञ आगामी मङ्सिर ३ गते बालाचतुर्दशीका दिन सतबिज रोपनपछि समापन हुने अर्जुनधारा जलेश्वरधाम व्यवस्थापन समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । महायज्ञको उद्घाटन धार्मिक गुरु १००८ केशवानन्द स्वामीले गर्नुभएको छ ।

    उहाँले नयाँ पुस्तालाई संस्कार–संस्कृतिको पाठ सिकाउनुपर्ने बताउनुभयो । “व्यक्तिमा जब संस्कार हुँदैन, उसको विवेक शून्य हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले सरकारले भौतिक संरचनामात्र विकास होइन, धर्म, संस्कृति र संस्कार जोगाउन पनि पहल गर्नुपर्छ ।”

    महायज्ञमा धामका व्यासाचार्य पण्डित कुवेर सुवेदी प्रमुख कथा वाचक र पण्डित हेमन्त भण्डारी उपवाचक रहनुभएको छ । विसं २०३९ देखि यस धाममा वार्षिक अनुष्ठान हुँदै आएको छ ।

    सरकारले नेपालका १०१ पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको यो धाममा पशुपतिनाथकै जस्तो पेगोडा शैलीमा शिव मन्दिर, चार वटा ढोका र तामाको छानो निर्माण गरिएको छ । मन्दिरको तस्वीरलाई नेपाल सरकारले हुलाक टिकटमा सङ्केत अङ्कित गरिसकेको छ ।

    महाभारतकालीन किंवदन्तीअनुसार पाँच पाण्डवले गुप्तबास बसेका बेला अर्जुनले तिर्खाएका विराट राजाका गाईहरुको प्यास मेटाउन धनुषवाण हानेर धरतीभित्रबाट जलधारा निकालेको पवित्र स्थानका रुपमा यस धामलाई मानिएको छ ।

    विराट राजाका गाईहरु हरण गरेर लगेपछि अर्जुनले युद्धबलद्वारा ती गाई फर्काएर ल्याएका थिए । अहिले धाम परिसरमा रहेको ठूलो पोखरीको माझमा अर्जुनले धनुषबाण हानिरहेको मूर्ति स्थापना गरिएको छ भने पानीको धारा अनवरत बगिरहेको छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ