यहाँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाई मन्दिरमा यही कात्तिकको तीन मङ्गलबार २१९ फूलको डोली भित्रिएको छ । विभिन्न जिल्लाबाट आएका भक्तजनले मन्दिरमा फूलको डोली भित्र्याएको थानीमाई मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै सोही अवधिमा यहाँ २४ हजार एक सय २७ भक्तजनले दर्शन गरेका छन् । कात्तिकको दोस्रो मङ्गलबार ११ गते आठ हजार, तेस्रो मङ्गलबार १८ गते सात हजार पाँच सय ५७ र अन्तिम मङ्गलबार २५ गते आठ हजार पाँच सय ७० भक्तजनले पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिनुभयो । कात्तिकको पहिलो मङ्गलबार औँसी परेका कारण फूलको डोली भित्रिएको थिएन ।
मन्दिरमा कात्तिकको दोस्रो मङ्गलबार ८६, तेस्रो मङ्गलबार ५८ र अन्तिम मङ्गलबार ६६ फूलको डोली भित्रिएको छ । यहाँ तनहुँ सहित चितवन, गोरखा, लमजुङ, काठमाडौँ, नवलपरासी, कास्की, रुपन्देहीलगायतबाट भक्तजनले फूलको डोली भित्र्याएका छन् । प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।
उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ ।
भक्तजनहरू फूलको डोली र पञ्चेबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजाअर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।
सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औँसीबाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।
समुद्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनर्निर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको थियो ।
विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटिनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाइ छ । रासस
