गण्डकी प्रदेश बाट बिदा हुदै बाबुराम कुँवरले भने जिन्दगीकै ठेगान छैन् पदको के ठेगान ?

पदमुक्त भइसकेपछि गण्डकी प्रदेशका निवर्तमान प्रमुख बाबुराम कुँवरले सोमबार चियापान तथा भेटघाट कार्यक्रम आयोजना गर्दै गण्डकी प्रदेश बाट बिदा हुनुभएको छ ।
उहाँ अब पुरानै पेशा अर्थात वकालती पेशामा फर्किने जानकारी दिनुभएको छ ।

केही दिन सँगै बस्दा, काम गर्दा ‘त्यो’ सँग, ‘तिनीहरु’सँग एक किसिमको लगाव हुन्छ । परिस्थिति कहिलेकाहीँ यस्तो पनि आउँछ कि कहिलेकाहीं मानिसहरु माया बोकेर फर्किन्छन् । कहिलेकाहीं दिल सफा राखेर फर्किन्छन् ।

आज म त्यस्तै सफा र त्यस्तै आनन्दित, प्रफुल्लित रुपमै उपस्थित भएको छु । मभित्र कुनै तृष्णा छैन । मभित्र कुनै प्यास छैन । मभित्र कुनै कुण्ठा पनि छैन । छ भने एउटै कुरा हो – अनुशासन ।

जिन्दगी चलाउन एउटा अनुशासनको जरुरत हुन्छ । व्यवहार चलाउन एउटा सद्विवेकको जरुरत हुन्छ । देश चलाउन एउटा संविधान र कानुनको जरुरत हुन्छ । सो बमोजिम गरिने क्रियाकलापहरु ठीक छन् या छैनन् भन्ने कुरा बोल्न पाउनु, सानातिना टीकाटिप्पणी हुनु, गर्न पाउनेले गर्न पाउनु र गर्नुपर्नेले पनि आफ्ना असन्तुष्टि जाहेर गर्न पाउनु लोकतान्त्रिक गणतन्त्रको एउटा ‘मेजेस्टिक क्यारेक्टर’ हो जस्तो मलाई लाग्छ ।

ती सानातिना टिप्पणीहरु जसजसबाट जसरी हुन्छन्, त्यसलाई हामी सबैले शीरोधार्य गर्नैपर्छ । क्रियाप्रतिक्रिया व्यक्त गरिरहँदा बोल्ने भाषाले, कुनै शब्दले, कुनै वाक्यले वास्तविक जीवनमा असर पार्नु हुँदैन । यसरी वास्तविक जीवनमै र कानुनको पथमा असर पार्न थाल्यो भने फेरि त्यही अन्तर्गत चलेको शाषण व्यवस्था हो, व्यवहार हो भनेर मानिँदैन ।

मैले कहीं पढेको थिएँ, ‘फ्लाई विद्आउथ विङ्स, थिंक विद्आथ माइन्ड ।’ यो भनाइ मलाई बडो अचम्म लाग्थ्यो, ‘बिना पंख पंक्षी कसरी उड्न सक्छ ? बिना थट्, बिना माइन्ड न थट् हुन्छ ?’ तर, यसको पछाडि ठूलो फिलोसोफी छ । जो मान्छे पंखबिना उड्छन्, उनीहरु मस्त हुन्छन् । तर जो पंखसहित उड्छन्, उनीहरु थाक्छन् ।

अब फेरि भेट भइएला, नभइएला ! सँगै बसिएला, नबसिएला ! जिन्दगी जिइरहँदाखेरि एउटै बिन्दुमा वा वारिपारि कुना कन्दरामा भेट हुन हुन पनि सक्छ, भेट नहुन पनि सक्छ । जिन्दगीको के ठेगान छ र ? आज जिइरहेको मान्छे भोलि सुनिँदाखेरि मृतावस्थामा भेटिन सक्छ । त्यस्तो नभए पनि आफ्नो कार्यव्यवस्थाले कतै अल्मलिरहनु पर्ने हुन्छ । त्यो नहोस् भन्नाका खातिर जसजससित सम्बन्ध बनाइयो ती साथीहरुसित भेट्ने मनसुवा राख्नु अन्यायपूर्ण कुरा हो भन्ने मलाई लाग्दैन ।

नेपालको संविधान जारी भइसकेपछि प्रथम फेजमा संवैधानिक आवश्यकताले ‘म’समेतको नियुक्ति भएको थियो । त्यो कुरा क्लियर हुन जरुरी छ । संविधानले प्रदेशको निर्वाचन भइसकेपछि निर्वाचनलाई पनि बुझाउने व्यक्तित्व र संवैधानिक अंगका रुपमा प्रदेश प्रमुखको खोजी भइरहेको थियो । त्यही सन्दर्भमा चाहेर–नचाहेर, इच्छा भएर–नभएर, कसैको अभिलाषा पनि थियो होला, कसैलाई कर पनि थियो होला, त्यो आफ्नो ठाउँमा छ । तर, संवैधानिक उत्पत्ति पक्का थियो ।

मलाई आफ्नो संवैधानिक कर्तव्य पूरा गरिरहँदाखेरि त्यो दिशामा हिजोका दिनसम्म सहयोग गरिरहनुहुने सबैलाई व्यक्तिगत हिसाबले र प्रदेश प्रमुखको संवैधानिक अंगको हिसाबले ऋणी छु । आभारी छु ।

मानिसको जीवनभित्र यस्ता क्षण पनि आउँछन् कि उनीहरुलाई लाग्छ, ‘मेरो साथमा बुरा (गलत) भयो ।’ इन्डियामा म पढ्दाखेरि म सुन्ने गर्थें, ‘कभी अच्छा होता हैं बुरा के लिए, कभी बुरा होता हैं अच्छाके लिए ।’ तर, नेपाल सरकारको हिजोको निर्णयले मलाई कतै पनि घोचेको, अप्ठ्यारो स्थितिको सामना गर्नुपरेको अथवा बुरा लागेको छैन ।
मलाई एउटा कुरामा दृढ विश्वास के छ भने कसैले राम्रो शिक्षा पाउने मौका पाउनु भयो होला, नपाउनु भयो होला तर, सबैले आआफ्नो व्यक्तित्व बनाउनु भएको छ । व्यक्तित्व निर्माणमा सबैको आआफ्नै भूमिका छ । कर्ममा विश्वास गर्नेले धेरै कुरा गर्न सक्छन् । तर, क्षमता र अनेस्टी सर्वत्र पुजिन्छ ।

मानिस कहिलेकाहीं पदमा बस्छ । कहिले सामान्य नागरिक हुन्छ । सामान्य नागरिक हुँदाको मजा अर्कै छ । पदमा बस्दाको मजा अर्कै छ । नमज्जा पनि अर्कै होला ! यहाँ त जिन्दगीकै ठेगान छैन, पदप्रतिष्ठाको के ठेगान ? हामी सबैले बुझ्नुपर्ने कुरा हो । यही नबुझ्नाले मान्छेहरु दुखी हुन्छन् । रुन्छन् । पछुताउँछन् ।

प्रारम्भिक अवस्थामा एउटा कुरा मनमै रह्यो । म बाँचुञ्जेल एउटा कुरा अनुभूत गरिरहने छु – यो संविधान बन्दा थाहा होला ! नेपाली कांग्रेसको नेतृत्वमा तत्कालीन एमाले मिश्रित सरकार थियो । त्यतिबेला जुन साथीहरु थिए अहिले ती सबै संघीय सरकारको मन्त्री हुनुहुन्छ । साथीभाइको हैसियतले धेरै पटक अनुरोध गरें कि प्रदेशको उन्नति, प्रदेश प्रस्फुरित, सुवासित त्यतिबेला हुन्छ, जतिबेला यसलाई सम्पूर्ण रुपले स्वायत्त छोडिन्छ । यसमा लगाम लगाउने काम नगर्नुस् । प्रदेशलाई लगाम लगाइयो भने संघीयता फल्दैन । प्रदेश प्रमुखको हैसियतले मर्यादाभित्रै रहेर गरें ।

पद्धति र प्रणाली सम्पूर्ण रुपले स्थापित हुनुपर्छ भन्ने मेरो मान्यता थियो । एउटा कुरा के लाग्यो भने न जनताले प्रदेश सरकारबाट लिगल इन्टरटेन्मेन्ट गर्न पाएन । सेरमोनियल हेड भएर बसेको प्रदेश प्रमुखको यो संस्था सम्पूर्ण रुपले गरिमामय, कानुनको पालनकर्ता हुनु नै पर्छ भनेर मन्त्रीज्यूहरुसँग कुरा सेयर गरेको थिएँ ।

मेरो कार्यालय अत्यन्तै सानो हुँदा मिटिङ त्यहाँ राख्दा गाडीमा बाटोमा राख्नुपर्ने हुन्छ । त्यो भनेको ट्राफिक नियम विपरीत हो । त्यही भएर मिटिङहरु पनि निवासमै राख्ने गरेको थिएँ । त्यसलाई सम्पूर्ण रुपले प्रणालीमा ढाल्न सकिएन, जे जति सकियो त्यो अभिलेखले बताउला ।

र अहिले सरकारबाट प्रदेश प्रमुखका लागि भर्खरै नियुक्त हुनु भएका सोमनाथ प्यासी र म पिएन क्याम्पसका सहपाठी हौं । उहाँलाई सम्पूर्ण कार्यकालको शुभकामना ! उहाँ नै यहाँ प्रमुख भएर आउनु हुनेछ भन्ने मेरो स्ट्रङली बिलिभ थियो । तर जो पनि यहाँ आउनुहुने छ उहाँले पूरा गर्न नसकेका र मैले पद्धति बसाल्न नसकेका बाँकी काम गर्नुहुनेछ भन्ने पूर्ण विश्वासमा छु । अब उप्रान्तको कार्यकाल जति छ – जोजो जहाँ हुनुहुन्छ सबैलाई सबैले सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।

सम्भवतः म भोलि यहाँबाट जान्छु पनि । सम्भवतः म पुरानै पेशामा फर्किन्छु, कुनै किसिमले आफ्नो पेशा सम्हाल्छु । फेरि म यहाँ फर्किएर आउँदा पूर्ण रुपले सुभाषित, फुलित र फलित रुपमा देख्न पाऊँ ।

कार्यक्रममा प्रदेशका मन्त्री,प्रदेश सभा सदस्यहरु लगाएतको उपस्थिती रहेको थियो ।