फलेबासको सातु विदेशमा

पर्वत) — फलेबासमा उत्पादित मकैलगायतका अन्न पिसेर बनाइएको सातु विकसित मुलुक पुग्न थालेको छ । सातु अहिले अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् ।

फलेबास–४ का उद्यमी थानेश्वर भुसालले स्थानीय किसानले उत्पादन गरेको मकै, भट्ट, फापर, चनालगायतको मिश्रणबाट पोसिलो खाजा उत्पादन गरी विदेश निर्यात गर्न लागेका हुन् । मुडिकुवामा १८ वर्षदेखि सञ्चालित पर्वत खाद्य प्रशोधन उद्योगले घरेलु अनाजलाई भुटेर विभिन्न परिकार उत्पादन गर्न थालेको हो । भुसालले सञ्चालन गरेको उद्योगले स्थानीयस्तरमा उत्पादन हुने मकै, भटमास, चना, फापर, अदुवा, बदाम, चिनी, अलैंची, मरीचलगायतलाई मेसिनमा भुटेर बनाएको सातु बजारमा बिक्री गर्न थालेको हो । बजारमा अर्गानिक खाजाको माग भइरहेकाले उद्योगले सातु बनाएर बिक्री गर्न सुरु गरेको भुसालले बताए । गाउँमा चाख नभए पनि बजारमा यस्तो परिकारको राम्रो माग छ । भुसालका अनुसार स्थानीय स्तरमा प्रशस्त पाइने मकै संकलन गरेर सातु उत्पादन गर्न थालेको एक वर्ष भयो । यसअघि भुसालले लप्सीको अचार, क्यान्डी, तितौरा, अदुवाको क्यान्डीलगायतका परिकार अमेरिका र युरोपका विभिन्न मुलुकमा निर्यात गर्दै आएका थिए । लप्सी, अदुवा र अमलाका अर्गानिक परिकार माग गर्ने देशबाट गाउँघरमा उत्पादित मकै र भट्टको परिकार समेत माग हुन थालेपछि यस्तो जुक्ति निकालेको उनी बताउँछन् । ‘गैरआवासीय नेपालीले लैजान थालेका छन्,’ उनले भने, ‘केही उत्पादन अमेरिका पठाउँछु । यो पोषिलो खाजा पनि उता धेरै माग बढेपछि उत्पादन थालेको हुँ ।’

उद्योगले यसअघि गाउँघरमा खेर गएका लप्सी, अमला, अदुवालगायतका परिकार उत्पादन गर्दै आएको थियो । गत वर्ष प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ७ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोगमा उद्योगको क्षमता विस्तार गरी घरेलु अनाजको सातु बनाउन सुरु गरेका हुन् । ‘गाउँघरमा उत्पादन हुने अन्न खेर फालेर जंकफुडको प्रयोग बढेको छ,’ उद्यमी भुसालले भने, ‘त्यसको विकल्पमा यसलाई प्रयोगमा ल्याउने गरी उद्योग विस्तार गरेको हुँ ।’ लप्सी, अदुवा र सितलचिनी प्रशोधन गरेर बेच्दै आएको उद्योगले सातु उत्पादन गर्न थालेपछि आम्दानी पनि बढेको छ । यहाँको सातु अहिले कुश्माबजारमा खाद्य स्टोर्स, डिमार्टमेन्टलले खरिद गर्छन् ।

कोसेलीका रूपमा काठमाडौं, पोखरालगायत देशका विभिन्न स्थानमा समेत पुर्‍याउने गरिएको छ । विभिन्न अर्गानिक पौष्टिक अन्न मिसाएर बनाएको हुनाले बालबच्चा र वृद्धवृद्धाले सातु स्वादिलो मानेर खाने गरेको स्थानीय प्रकाश भुसालले बताए । ‘बजारका तयारी खाजाले मुख मात्रै नभएर स्वास्थ्यसमेत बिगारेको छ,’ उनले भने, ‘त्यसको विकल्पका रूपमा यो खाजा धेरै राम्रो छ ।’ गाउँघरमै पाइने अन्नको मिश्रणबाट उत्पादित यो सातु जिल्लाभित्र र बाहिरका विभिन्न विद्यालयमा दिवा खाजाका लागि पनि खरिद गरेर लैजाने गरेका छन् । उद्योगमा सातुको परिकार बनाउन थालेपछि सबै मौसमलाई काम मिलेको भुसालले बताए । ‘लप्सी, अदुवा र अमला प्रशोधन गर्दा चार–पाँच महिनालाई मात्रै काम हुन्थ्यो,’ उनले भने, ‘अहिले कामदारलाई बाह्रै महिना काम पुगेको छ । म पनि व्यस्त छु ।’ उनको उद्योगमा अहिले प्रत्यक्ष रूपमा पाँच जनाले रोजगारी पाएका छन् । अहिले हिउँदका मंसिर, पुस, माघ र फागुनमा लप्सी र अरू सबै मौसममा सातु उत्पादन हुने गरेको उनले बताए । यहाँ उत्पादित मकैलगायत खाद्यान्नको धूलो गुणस्तर परीक्षण गरिएकाले उत्पादन भएको मितिले ६ महिनासम्म उपभोग गर्न मिल्छ ।

गाउँमै उत्पादित मकैको मूल्य प्रतिकिलो ४० रुपैयाँ पर्छ । चार वर्षअघि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएपछि फलेबासमा मकै जोन कार्यक्रम सञ्चालन गरिएको छ । जोन कार्यालय सञ्चालनपछि उत्पादन दोब्बर बढाएका किसानले घरबाटै राम्रो मूल्य पाएकोमा खुसी छन् । ‘मकैबारे नबुझेर खेर फालिन्थ्यो,’ फलेबास–६ की ज्योति भुसालले भनिन्, ‘अहिले घरमै खोज्न आउँछन् । बाँझो बारीमा समेत मकै लगाउन थालेका छौं । फलेबास–४ का ओम गौंडेलले मकैको माग बढेपछि बेसिजनमा समेत व्यावसायिक खेती सुरु गरिएको बताए । केही किसानले मंसिरमा पाक्ने गरी मकै लगाएका छन् ।