बजेट पुगेन भन्ने नाष्टलाई प्रधानमन्त्रीको जवाफ – नासालाई जस्तो दिन सक्दैनौं

१ असोज, काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) विज्ञान तथा प्रविधिको विकास, अनुसन्धान र प्रवर्द्धन गर्ने सरकारको सर्वोच्च संस्था हो । तर ३७ वर्षे इतिहास बेकेको नास्टको गुनासो छ, बजेट अभावमा काम गर्न सकिएन ।

बुधबार राष्ट्रिय विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा पनि नास्टका उपकुलपतिमा सुनिलबाबु श्रेष्ठले पनि त्यही गुनासो गरे । ‘३७ बर्षमा हामीले जम्मा बजेटको हिसावले २ अर्ब ३७ करोड मात्रै पाएका रहेछौं’, उनले भने ।

उनले विज्ञान र प्रविधि क्षेत्रमा बजेट दिँदा ध्यान दिन प्रधानमन्त्रीलाई आग्रहसमेत गरे । बजेट मात्र होइन, नाष्टमा कर्मचारी पनि अभाव रहेको उनले सुनाए । २३१ जनाको दरबन्दी भए पनि अहिले ९० जनाले काम गरिरहेको उपकुलपति श्रेष्ठले जानकारी गराए ।

उनले राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीतिको प्रशंसा गर्दै त्यस नीतिमार्फत् खोज अनुसन्धानलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले सन् २०२१ लाई ‘विज्ञान प्रविधि नवप्रवर्तन वर्ष’ मनाउन पनि आग्रह गरे ।

प्रधानमन्त्रीको जवाफ : नासालाई जस्तो दिन सकिन्न

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नास्टका उपकुलपति श्रेष्ठलाई जवाफ फर्काएका छन् । विगतका सरकारहरुलाई बजेट कम दियो भनेर गाली नगर्ने उनले बताए । उनले अघि भने, ‘राजनीतिक छनोटका हिसाबले मन परेका मान्छेलाई लगेर जागीर खुवाउन राखेका संस्थाहरुलाई बजेट दिएर गर्ने के ?’

यद्यपि अध्ययन अनुसन्धानका लागि काम गर्ने वातावरण बनेपछि बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाए । ‘अब नासाले जस्तो बजेट त हामी सक्दैनौं’ उनले भने, ‘नासाको जति बजेट दिन नसकेपनि नास्टको आफ्नो सीमा छ, बजेट माग्ने पनि एउटा सिमा छ । सरकारले त्यो सीमासम्म बजेट दिनसक्छ ।’

प्रधानमन्त्रीको सम्वोधनको उनकै शब्दमा –

‘विज्ञान प्रविधि मन्त्रालय ‘डस्टवीन’ होइन’

आज ७ औं विज्ञान दिवस । मलाई खुशी लागेको छ कि विज्ञान र प्रविधिको क्षेत्रमा केही गर्ने जमर्को गरिराखेका छौं र अगाडि बढ्ने हाम्रा अठोटहरु महत्त्वपूर्ण कुरा हुन् । विज्ञान र प्रविधि मन्त्रालय लामै समयदेखि नेपालमा छ । तर, मन्त्रालय पनि छ, पहिला रोनास्ट थियो, अहिले नास्ट छ । यस्ता संस्थाहरु बनेका छन् । तर, वाञ्छित उपलब्धि हामीले हासिल गर्न सकेका छैनांै । अब उपलब्धि हासिल गर्न सकेका छैनौं भनेर मात्रै बस्ने होइन । उपलब्धि हासिल गर्न लाग्न पर्ने परिस्थिति बनेको छ ।

अब देशमा राजनीतिक उपलब्धिहरु हासिल भइसकेका छन् । लोकतन्त्र आइसकेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेको छ । संविधान बनिसकेको छ । चुनावहरु भइसकेका छन् र अब समाजलाई शान्तिपूर्ण ढंगले सुशासनका साथ विकासको गतिमा अगाडि बढाउनु पर्नेछ– तीव्रताका साथ ।

एउटा प्रवृति छ– हामी हिजो परिवर्तनका प्रयासहरुबाट, मागहरुबाट, आन्दोलनबाट आयौं । विरोधको प्रवृति छ, अलिकति नेगेटिभ एटिच्युट छ, आलोचनात्मक रवैया छ, असन्तुष्टि व्यक्त गर्ने बानी छ । यस्ता कुराहरु पनि केही छन् । तर, हामीले अब समय बदलिएको, हामीले नै समयलाई बदलेको, समय अगाडि बढिसकेको थाहा पाउनुप¥यो ।

अब लोकतन्त्र ल्याइसकेपछि हामी फेरि केका निम्ति हामी अरु कुराहरु गछौं ? लोकतन्त्र ल्याइसकेपछि लोकतन्त्रलाई सुदृढ गर्ने र अगाडि बढ्ने काम हो । लोकतन्त्र ल्याइसकेपछि यसलाई स्वच्छता, पारदर्शिताका अगाडि बढाउने काम हो । समाजलाई अब शान्तिपूर्ण सुशासनयुक्त समाज, भ्रष्टाचारमुक्त समाज बनाएर जाने काम हो । र, अब आर्थिक विकास र उन्नति गर्दै देशलाई एउटा समृद्ध नेपाल, समृद्ध देश र नेपाली जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन ।

आज विज्ञान–प्रविधिमा हामीले कति गर्न सक्यौं, सकेनौं, तर अरुले गरेका प्रविधिहरु हामी ट्रान्सर्फर गर्न सक्यौं । प्रविधि स्तान्तरण, हस्तान्तरण आदि गर्न सक्छौं र त्यसको प्रयोग गर्न सक्छौं । अरुले बनाएकोबाट पनि हामीले लाभ लिइराखेका छौं । र, आज हामीलाई आधुनिक विज्ञान–प्रविधिको आफंैले विकास गर्ने अवसर पनि छ । आधार पनि छन् । अरुले गरेका विकासहरुलाई प्रयोग गर्ने र सिक्ने अवसर पनि छ । त्यसो भएर हामी विकास गर्न सक्छौं ।

हाम्रा प्रयास उही पुरानै पाराले, पुरानै ढाँचामा, पुरानै प्रविधिको प्रयोग गरेर वा प्रविधिहीन ढंगले चलिरह्यौं भने विकासको गति सम्भव छैन । फेरि हामी जहाँको त्यहीँ हुन्छौं ।

त्यसकारण हामीले–आजको समाजलाई, समाजका लागि विज्ञान । समाजलाई विज्ञानसम्वत र वैज्ञानिक ढंगले आधुनिकीकरण गर्दैै लानुपर्छ । शिक्षा, चेतना सबै हिसाबले र उत्पादनलाई हामीले प्रविधिसँग जोड्नैपर्छ । उत्पादनसँग प्रविधि जोड्यौं भने, प्रविधिको साहाराबाट उत्पादनलाई अगाडि लग्यौं भने मात्रै विकासको गतिलाई तीव्रता दिन सक्छौं । अब अल्मलिने समय छैन ।

केही स्वार्थी तत्वहरु अहिले पनि आर्थिक उन्नति, विकास, सुशासन, अमनचयन भन्दा उत्ताउला कुरा गरेर, नचाहिने कुरा गरेर, प्रतिगामी कुरा गरेर, जन्मसिद्ध श्रेष्ठताका पाखण्डी कुरा गरेर, जन्मिँदा कोही शासक जन्मिन्छ भन्ने अवैज्ञानिक, निराधार, तथ्यहीन त्यस्ता कुराहरु गरेर हिँडिरहेका छन् ।

हामी आज देश अब यस्ता कुराहरुमा अल्झिने होइन कि आर्थिक उन्नति र विकासको बाटोमा तीव्रताका साथ अग्रसर हुनुपरेको छ । त्यसका निम्ति विज्ञान र प्रविधिको प्रयोग, खोज–अध्ययन, अनुसन्धान बन्नु पर्ने इनोभेटिभ ढंगले । सिर्जनात्मक, रचनात्मक ढंगले अगाडि बढ्न आवश्यक छ ।

साथीहरुले केही उठाउनुभएको छ बजेट कम छ । म विगतका सरकारलाई बजेट कम दियो भनेर पनि गाली धेरै गर्दिनँ । बजेटले मात्रै केही गर्दैन । राजनीतिक छनोटका हिसाबले मन परेको मान्छे लगेर जागिर खुवाउन राखेका संस्थाहरुलाई बजेट दिएर गर्ने के ? त्यसकारण त्यसबाट मुक्त भएर अध्ययन अनुसन्धानका लागि काम गर्ने, अध्ययन अुनसन्धाका कामका लागि बजेट दिने परिपाटी सुरु गर्ने त्यो हामीले गर्न खोजेका छौं ।

त्योअनुसार बजेटको कमी अब नासाजस्तो बजेट त हामी दिन सक्दैनौं । नेपालको बजेटभन्दा नासाको बढी होला । नासाको जस्तो हामी दिन सक्दैनौं । नासाको ठूलो बजेट होला । ठूलो रकम होला । उसका क्षेत्र पनि धेरै अन्तरिक्ष तिर बढी होलान, धर्तीतिरभन्दा । हामी त्यहाँ पुगिहाल्न सक्दैनौं अहिले ।

नासाको जति बजेट दिन नसके पनि नास्टको सीमा छ नि, बजेट माग्ने सीमा छ । त्यो बजेटको सीमा, आफ्ना कामहरुको सीमा छ । त्यो सीमासम्म बजेट दिन सरकारले सक्छ र दिन्छ ।

अर्को कुरा, युवा वैज्ञानिकहरुलाई म भन्न चाहन्छु, तपाईहरुले गरेका अन्वेषणहरु, खोज–अध्ययन, अनुसन्धानहरु तिनीहरु तपाईहरुको अभावको, अभावग्रस्त क्षेत्रभित्र खुम्चिएर अब बस्नुपर्दैन । तिनलाई अभावका क्षेत्रबाट सरकारले बाहिर निकाल्छ । तपाईले खाली प्रतिभा देखाउनुस्, तपाईले खाली आफ्ना अध्ययन, अनुसन्धानलाई प्रस्तुत गर्नुस्, त्यसलाई कार्यशाला, प्रयोगशाला केमा लानुपर्छ, त्यसका निम्ति सरकारले तपाईलाई साथ दिन्छ, सहयोग गर्छ ।

हामी अब विज्ञान–प्रविधिको क्षेत्रलाई हिजोझै पछाडि परिरहन दिन सक्दैनौं । मन्त्रालय पनि कुनै सचिवसँग रिस उठ्यो, काम लाग्दैन भन्ने लाग्यो भने विज्ञान प्रविधिमा पठाइदेउ न भन्ने छ । अनि कुनै मन्त्रीसँग रिस उठ्यो भने त्यसलाई विज्ञान–प्रविधिमा हाल भन्ने… । विज्ञान प्रविधि भनेको त्यो डस्टबीन हो भन्ने खालका मान्यताहरुबाट हामी गुज्रिएर आयौं । त्यस्तो होइन विज्ञान प्रविधि मन्त्रालयको असाधारण महत्व छ ।

मन्त्री पनि हामी त्यस सम्बन्धमा रुचि पनि भएको, जानकारी पनि भएको र खास गरी त्यसको खोज–अध्ययन, अनुसन्धान त वैज्ञानिकले गर्ने हो । कमसेकम त्यो खोज अनुसन्धान बुझ्ने र त्यसका निम्ति अनुकुल वातावरण दिने मन्त्री हामी दिन्छौं– विज्ञान–प्रविधिको क्षेत्रमा । सचिव त्यसैगरी फालिएको होइन, छानिएको सचिव दिन्छौं । जसले केही गर्न सकोस् ।

यस क्षेत्रमा काम गर्नका लागि पदाधिकारीहरु छान्दा हाम्रो मान्छे होइन, राम्रो मान्छे, सक्षम मान्छे छानेर त्यो त्यहाँ दिने त्यो काम गर्छाैं । यो पोलिटिकल एपोइन्टमेन्टका हिसाबले होइन । योग्यताको कदर र त्यस क्षेत्रको कामको उन्नतिका लागि हामी गर्छौं । यसर्थ हामी नयाँ ढंगले अगाडि बढ्न खोजिराखेका छौं । किनभने, हामीले देशलाई तीव्र गतिका साथ आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुपर्नेछ ।

अलिकति विज्ञानको इतिहासलाई, हाम्रो विज्ञानको इतिहास असाधारण छ । विज्ञानको सुरुवात हाम्रा पूर्खाले गरेका थिए । तर, हाम्रा पूर्खाको नाम आउँदैन । प्रविधिको सुरुवात हाम्रा पूर्खाले, ज्ञानको सुरुवात हाम्रा पूर्खाले गरेका थिए । धर्तीका यस भेगका पूर्खाहरुले गरेका थिए । हाम्रै पूर्खाहरुले गरेका थिए । तर, त्यो कुराको चर्चा हुँदैन ।

हामी विज्ञानका कुरा गर्दा ग्यालेलियोको कुरा गर्छौँ, न्यूटनका कुरा गर्छौँ, आइन्स्टाइनका कुरा गर्छौँ । अथवा इन्जिनको युगमा प्रवेश गराउने र विकास गराउने जेम्स वाट जस्ताका कुरा गर्छौँ । अरु विभिन्न वैज्ञानिकहरुका कुरा गर्छौँ । विभिन्न क्षेत्रका वैज्ञानिकहरुका कुरा गर्छौँ । तर, हाम्रा पूर्खाहरुले यस्ता खोज–अध्ययन, अनुसन्धान, अन्वेषण मैले धेरै भन्छु आयुर्वेदिक क्षेत्रमा, योगका क्षेत्रमा आज योग विज्ञान भनेर विश्वमा प्रसिद्ध छ । हाम्रा पूर्खाले हजारौँ वर्ष अगाडि योगको आविश्कार गरेका थिए । हाम्रा पूर्खाहरुले यस्तो खोज, अध्ययन, अनुसन्धान गरेका थिए ।

गणितले नर्कको कुरा गर्दैन । स्वर्गको कुरा गर्दैन । गणितले स्वर्ग र नर्ग, कल्पनाले गर्छ त्यो, साहित्यकारले भन्छ त्यो, साहित्यमा अनेक कुराहरु हुन्छन् । यो साहित्य हो । स्वर्ग, नर्क साहित्य हो, गणित होइन । स्वर्ग नर्क साहित्य हो, विज्ञान होइन । साहित्य र विज्ञान फरक छ ।

नेपाली पुराना जेनेरेशनहरुको, साइन्टिस्‍टहरुको धेरै सम्भावना नहोला ? किनभने एउटा अभावको, अनुपयुक्त वातावरणको, सिमित अवस्थाको अध्ययनबाट गुज्रियर आएको पृष्ठभूमि छ । त्यस्तो खोज, अध्ययन, अनुसन्धानको अवसर आदि पनि थिएन । यस क्षेत्रमा अब सरकारको पुरा ध्यान गएको छ, जान्छ ।

म वैज्ञानिक साथीहरु, युवा वैज्ञानिकहरुलाई विशेषत उत्साहित भएर काममा लाग्न आग्रह गर्न चाहन्छु र यस ७ औँ विज्ञान दिवसले हामीलाई विज्ञानतर्फको खोज, अध्ययन, अनुसन्धान तर्फको रुची अभिवृद्धि गरोस्, काममा लाग्न प्रेरणा देओस् । र, देश विकासका काममा विज्ञान प्रविधिको प्रयोगलाई केन्द्रित भएर अगाडि बढाउन हामीलाई हसौला मिलोस् ।

[email protected] khabar