उपल्लो मुस्ताङको लोमान्थाङमा अहिले पनि राजा ?

मुस्ताङी राजाका २६ औँ पुस्ताका युवराज जिग्मेसिग्मे परवल विष्टलाई त्यहाँका जनता राजा नै मान्छन् । ३ हजार ८ सय ४० मिटर उचाईमा रहेको यो सुन्दर बस्तीको मूली नै राजा हुन् ।
माटैमाटोको सहरको चालकिल्लाभित्र राजाले मात्र घोडा चढ्न पाउने परम्परा अहिले पनि कायमै छ । मुस्ताङी राजाको २६ औँ उत्तराधिकारी युवराज जिग्मेसिग्मे परवल विष्टलाई यहाँका बासिन्दाले राजा नै भन्छन् । उनको आग्रहलाई आदेशजस्तै मानिन्छ । बरु,युवराज स्वयं भने आफूलाई यहाँका जनताको सुखदुःखमा साथ दिने साथी मान्छन् । परिवर्तनलाई स्वीकार्दै लोमान्थाङलाई पर्यटकीय स्थल बनाउने र पर्यटनमार्फत नै यहाँको आर्थिक समृद्धि हुनेमा उनी आशावादी पनि छन् । नेपाल सरकारले दिएको श्रीपेच नलगाई यार्तुङमा सहभागी उनले आफूले हरेक परिवर्तनलाई स्वीकारेको बताए । कानून मा आफू राजा नभए पनि जनताले दिएको सांस्कृतिक सम्मानलाई भने आफूले ग्रहण गरेको उनले बताए ।
‘खासमा यस्तो कपडा लगाएर बस्न पर्ने पनि थिएन’, उनले यार्तुङको दिन आफूले पहिरिएको राजसी पोशाक देखाउँदै भने,‘हामीले २१ औँ शताब्दीमा पनि हाम्रो संस्कृतिलाई निरन्तरता दिइरहेका छौँ, हामी यही संस्कृति देखाएर पर्यटन प्रवद्र्धन गर्न चाहन्छौँ ।’ उनले आफू स्वंय पनि पर्यटन व्यवसायमा लागेको र राजाको रुपमा भूमिका निभाउँदा त्यसले पनि पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएकोमा खुसी जनाए । खेती गरेर आम्दानी बढाउन जग्गा नभएको, उद्योग खोल्ने सम्भावना नभएको यो क्षेत्रमा हुने सांस्कृतिक गतिबिधि नै पर्यटन उद्योगको लागि सहायक हुने पनि उनले बताए ।
युवराज आफूलाई राजा मान्दैनन् । नेपाल सरकारले दिएको श्रीपेच पनि लगाउँदैनन् । त्यसो त उनीसँग तत्कालीन नेपाल सरकार, मंगोलिया र तिब्बत सरकारले दिएको फरक–फरक श्रीपेच छन् । हेर्दा सामान्य लागे पनि ती सबैले उनलाई राजाको हैसियत नै दिन्छन् । देशमा गणतन्त्र आएकै बेला २०७२ सालमा तत्कालीन राजा जिग्मे परवल विष्टको निधन भयो । गणतन्त्र आएसँगै तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम राजाको श्रीपेच फिर्ता माग्न पनि आए । सुन, चाँदी, मुगा अनि एउटा सेतो प्वाँख थपिएको त्यो श्रीपेच उनले मुस्ताङबाट फिर्ता भने लैजान सकेनन् । कारण, देशमा गणतन्त्र आए पनि उपल्लो मुस्ताङबासीले राजालाई उत्तिकै मान्थे । बरु युवराज अहिले त्यो टोपी लगाउँदैनन् । युवराजले यार्तुङमा पनि तिब्बत सरकारलले दिएको टोपी लगाए ।‘अहिले राजकुमार हुुनुहुन्छ, उहाँले आफूलाई राजा नमाने पनि उहाँ हाम्रो राजा हो’, स्थानीय लामा घ्याचो विष्टले भने,‘ उहाँ हाम्रो राजा हो, उहाँलाई राजा नै भन्नुहोस् ।’ लोमान्थाङमा पनि राजनीति पसेको छ । त्यहाँ पनि कम्युनिष्ट र कांग्रेसको झण्डा बोक्नेहरु छन् । तर, उनीहरुभन्दा माथि सांस्कृतिक राजा छन् । अर्वपर्व र मुद्दा मामिलाका घटनाहरु राजाकै उपस्थितिमा मिलाइन्छ । ‘म सामान्य जनताको साथी नै हुँ, उहाँहरुको सुख–दुःखमा साथ दिनु मेरो कर्तव्य हो’,उनले भने,‘ म जनताभन्दा माथि छैन र मैले परिवर्तनलाई पनि स्वीकारेको छु, तर मलाई अहिले पनि जनताबाट दिइएको सम्मानमा म खुसी छु ।’ पर्यटकीय क्षेत्र हो, लोमान्थाङ । होटलहरु बन्दैछन् । राजा स्वयंले होटल व्यवसायमा हात हालेका छन् । भर्खरै बाटोले छोएको यो ठाउँ हुँदै तिब्बती नाका कोरलाको यात्रा तय हुन्छ ।