देखिए जतिसँग एकमेसै लड्ने भनेको क्रान्ति होइन : विप्लव (विस्फोट पछिको अन्तरवार्ता)

कम्युनिस्ट नाउँकै सरकार छ । सत्तासीन नेकपाको लोकप्रियता घट्दो छ । तपाईंले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले चाहिँ कसरी जनतालाई आकर्षित गर्छ ?

जनआकर्षणको सम्बन्ध श्रमिक जनता (किसान, मजदुर, महिला, युवा), देश, देशभक्त शक्ति, लोकतन्त्रवादीहरूका लागि पार्टीले अगाडि बढाउने राजनीतिक विचार, नीति, कार्यक्रमसँग हुन्छ । आज देशको राजनीतिक आर्थिक, सामाजिक राष्ट्रिय अवस्था सङ्कटपूर्ण एवम् विस्फोटक छ भन्नेमा सबै एकमत छन् । यसको एकमात्र कारण दलाल पुँजीवादी राज्यसत्ता, यसमाथि चढेर मोजमस्ती चलाउने संसद्वादी राजनीतिक पार्टीहरू एमाले, काङ्ग्रेस, माओवादी केन्द्र आदि हुन् ।

हाम्रो पार्टीले विदेशी शक्तिको अतिक्रमण, हस्तक्षेप र आक्रमणबाट मुक्त, सम्पूर्ण जनताको अधिकार सुनिश्चित गर्ने, मजदुर, किसान, महिला, युवाहरूका आधारभूत आवश्यकता गाँस, बास, शिक्षा, स्वास्थ्य, रोजगारी सुनिश्चित गर्ने कार्यक्रम अघि बढाएका छौँ । त्यस्तै देशबाट लुट, कमिसन, राष्ट्रघात, भ्रष्टाचार, तस्करी, सामाजिक असुरक्षा, बलात्कार, चोरी, महँगी आदिलाई सदाका लागि अन्त्य गर्ने हाम्रो नीति तथा कार्यक्रम छ । यी कार्यक्रम हाम्रा होइन जनताका हुन्, यसको नेतृत्वमात्र हामीले गरेका हौँ । यी नै आधारले हामी भन्छौँ, हामी जनताका लागि काम गर्छौं । हाम्रो कामले जनता हाम्रो पार्टीप्रति आकर्षित हुन्छन् । हुँदै जानेछन्, यसमा कुनै द्विविधा छैन ।

परिवर्तनका नाममा यसअघि पनि धेरै आन्दोलन भए । तपाईंहरूले चाहनु भएको परिवर्तनचाहिँ कस्तो हो ? कस्तो राज्यसत्ताको परिकल्पना गर्नुभएको छ ?

हाम्रो परिवर्तनको मुख्य लक्ष्य दलाल पुँजीवादी सत्ताको अन्त्य हो । यो व्यवस्थाले जनताको जीवनलाई कष्टकर, कङ्गाल, पराधीन मात्र बनाएको छ । देशलाई टाट पल्टाउँदै लगेको छ । देशलाई बेचेर खानेबाहेक केही गरेको छैन । हामी यसलाई परिवर्तन गर्न चाहन्छौँ । अनि हामीले स्थापना गर्न चाहेको राज्यसत्ता वैज्ञानिक समाजवाद हो जुन व्यवस्थामार्फत पुँजीवादले मानव जीवनमा लादेका सारा विभेद, उत्पीडन, शोषण,

लुट, अशान्ति, युद्ध, अतिक्रमणलाई समाप्त पार्दछ । साथै यसले जनताका लागि समानता र स्वतन्त्रता सुनिश्चित गर्दछ ।
कम्युनिस्टकानाममा आन्दोलनको जनउभार उठ्ने सम्भावना छ र ?

निःसन्देह छ । सम्भावना मात्र होइन, निर्विकल्प सम्भावना छकिनकिकाङ्ग्रेस, एमाले, माओवादी केन्द्रहरूलाई जनताले ७० वर्षको राजनीतिक आन्दोलनमा निकैपटक अवसर दिने र जाँच्ने गरेका छन् । कुनै बेला काङ्ग्रेसले दुईतिहाइल्यायो । कुनै बेला बहुमत ल्यायो । कहिले एमालेलाई जनताले ठूलो पार्टी बनाए । कहिले बहुमत र दुई तिहाइको अवसर पनि दिए । माओवादी केन्द्रले पनि छोटै अवधिमा त्यस्तै अवसर पायो ।
तर खै त यी पार्टीहरूबाट देशले नयाँ परिवर्तन र विकासको अनुभूति गर्न पाएको ? बरु यी पार्टीहरूले जनतालाई भ्रामक पार्दै देशलाई बेचेर खाने, दलालहरूसँग मिलेर देशको धन कुम्लो पार्ने, जनतालाई लुटेर निजी मोजमस्ती गर्ने काम त गरे । यी असफल भइसकेको अवस्थामा वास्तविक क्रान्तिकारी कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादका पक्षमा जनता उठ्ने, एकताबद्ध हुने र परिवर्तन ल्याउने कुरामा कुनै शङ्का छैन ।

संसारमा कम्युनिस्ट अप्ठेरो अवस्थामा छन् । नेपालमा जनमत भएर पनि लोकप्रियता घट्दो छ नि ?

यो पक्का होमाओको मृत्युपछि विश्व कम्युनिस्ट आन्दोलनमा केही कठिनाइहरू आएका छन्तर पुँजीवाद कहाँ सफल भयो त ?पुँजीवाद झनै बेइमान, अमानवीय, लुटेरा र सङ्कटग्रस्त भएको छ । विश्वमा आज मानव जातिले जेजस्ता सास्ती र विपतहरू भोग्दैछ, ती सबै पुँजीवादी विश्व–व्यवस्थाकै कारणले त भोग्दैछ। आज विश्व–मानवजातिसामु जस्ता भयानक विनाशका चुनौतीहरू खडा भएका छन् ती सारा पुँजीवादी विश्वव्यवस्थाकै कारणले त भएको छ ।

कम्युनिस्टहरूसामु कैयौँ प्रश्नहरू भए पनि पुँजीवाद दुनियाँको समाधान होइन भन्नेमा त पुँजीवादी विश्वकै बुद्धिजीवीहरू पनि सहमत छन् । नेपालमा त प्रगतिशील पुँजीवाद पनि छैन । यो त विदेशी शक्तिकेन्द्रको अवैध गर्भधारणबाट पैदा भएको हिजडा पुँजीवाद हो । यसलाई हामीले दलाल पुँजीवाद भनेका छौँ । यसले त पुँजीवादले गर्ने औद्योगिक एवम् प्राविधिक अर्थतन्त्र पनि दिन सक्दैन ।

यो त विदेशी मालिकको पैसा बेचेरगुजरा चलाउने र जनतालाई केवल बजारमात्र बनाएर बीभत्स उपभोग गर्ने सत्ता मात्र हो । आफ्नो कुनै उत्पादन छैन तर उपभोग भने विश्वभरिबाट भएनभएका वस्तुहरू गर्न लगाएको छ । त्यसैको परिणाम हो देशलाई भ्रष्टाचार, व्यभिचार, तस्करी, ठगी, वेश्यावृत्ति, मानव बेचबिखन गर्नुपर्ने बाध्यता आइलागेको छ । अनि यस्तो व्यवस्थालाई मिल्काएर जनताको सत्ता बनाउने कम्युनिस्ट पार्टी लोकप्रिय भइछाड्छ ।

बम विस्फोट भयो । मानिस मारिए । तपाईंका कार्यकर्ता पक्राउ परे । तपाईंको पार्टीकोसहरमा उपस्थिति र प्राविधिक रूपले कमजोर भनेर सरकारले बुझेको छ नि ?

तपाईंको प्रश्न मिसियो । म फरक गरेर केही बताउँछु । केपी सरकारले चार महिनादेखि हाम्रो पार्टीमाथि फासिवादी आततायी दमन गरिरहेको छ । उसले युद्ध भड्काउने खेल खेलिरहेको छ । हामीले भने जनताको अभिमतअनुरूप राजनीतिक सङ्घर्ष चलाइरहेका छौँ । बन्दुक चलाएका छैनौँ । जेठ ८ गते भोजपुरमा हाम्रा युवा कमरेड तीर्थराज घिमिरे ‘राजु’ लाई प्रहरीले गोली हानी हत्या ग¥यो । हत्याकाण्डाविरुद्ध नेपाल बन्द राख्यौँ ।

बन्दका लागि तयारी गर्ने क्रममा केही प्राविधिक खराबीले गर्दा हाम्रा होनहार युवा कमरेडहरू महान, दीपेन्द्र, प्रज्वल, निरन्तर, रवि र रामकुमारको सहादत भयो । उहाँहरूको सहादत दलाल पुँजीवादी सत्ताकाविरुद्ध एकीकृत जनक्रान्ति अगाडि बढेपछिको महान् सहादत हो । हाम्रो पार्टीले उहाँहरूलाई उच्च सम्मान गरेको छ र म शिर निहुर्याएर सम्मान व्यक्त गर्दछु । उहाँहरूको बलिदान कहिल्यै खेर नजाने बरु दलाल पुँजीवादी सत्ताले एक दिन बिदा लिनुपर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।

त्यसैगरी पार्टी स्थायी समिति सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेडहरू जीवन्त, रणवीर, सीसीएम कमरेडहरूबन्धु, असल, आदर्श, प्रज्वलन, शीतलसहित सयौँ कमरेडहरूबन्दीअवस्थामा हुनुहुन्छ । राज्यको कठोर दमन हुँदाहुँदै उहाँहरूले जेललाई मोर्चा बनाएर एकीकृत जनक्रान्तिलाई उचाइप्रदान गरिरहनुभएको छ । उहाँहरू सबै उच्च सम्मानका पात्र हुनुहुन्छ ।

सहरी क्षेत्रको प्रभावको सन्दर्भमा तपाईंको प्रश्न र सरकारले गरेको विश्लेषण मिलेन । उसले सहरलाई हामीले केन्द्रित गरेको भनेको छ । यसो भनेर हामी सहरमा मात्र लागेका छौँ भन्न खोजेको होइन । आजको समाज त्यतिविधि गाउँ र सहरमा विभक्त छैन भन्ने हाम्रो पार्टीको विश्लेषण छ । आज सहरमा के चीज छ, गाउँमा पनि छ । गाउँमा जे भइरहेको छ सहरमा पनि हुन्छ । आज यो सत्ता र सरकारकाविरुद्ध सहरमा जति असन्तुष्टि, आवेग, आक्रोश र विद्रोह छ त्यसबाट नै यो सरकार अत्तालिएको छ । जनताको असन्तुष्टि, आवेग र विद्रोहसँग त नेपाल कम्युनिस्ट पार्टी छ । हामी छौँ । हामी किन चिन्तित हुने ? तपाईं पनि उत्साहित बन्नुस् ।

सरकारले वार्ता र प्रतिबन्ध दुवैको कुरा गर्दैछ ?

यो कुरा झूट र भ्रमपूर्ण छ । वास्तवमा सरकार हाम्रो पार्टी बनेदेखि नै प्रचारमा वार्ता, प्रयोगमा दमन, मुखले वार्ता व्यवहारमा फासिवाद, देखाउन वार्ता गर्ने दमनको नीतिमा छ । यो भनेको दमनभन्दा पनि खतरनाक चाल हो । सायद झापा विद्रोह र जनयुद्धको नकारात्मक अनुभवको प्रयोग हो । तर हामीले भनेका छौँ यो एकीकृत जनक्रान्तिकै एउटा विशेषता हो । उनीहरूलाई दमन मात्र भनेर चल्न असम्भव भएको छकिनकि हामीले जुन देशको स्वाधीनता र जनताको अधिकारका विषय उठाएका छौँ ती जनताका विषय हुन् ।

प्रचण्डले आफ्नो नक्कल गरेको भने । तपाईंसँगै कुनै ताका युद्धमा होमिएका गृहमन्त्री रामबहादुर थापाले उपस्थिति फिचलो रहेको र चार कम्पनीको जनसरकारको अभ्यासमात्र भने ?

यसको एउटा कहानी नै पाउँछौँ हामी सायद तपाईंले पनि बुझ्नुहुन्छ । प्रचण्डसँग विद्रोह गर्दा हाम्राबारेमा के भन्थे यी तत्वले? पद नपाएर, मौका नपाएर, व्यक्तिगत टकराव होइन त ! हाम्रो पार्टी पार्टी नै बन्दैन पनि त भन्थे हैन ? जब हामीले पार्टी बनायौँ अनि के भने ? विदेशीबाट चलेकाछन्, भारतबाट निर्देशित छन्, दरबारबाट चलेका छन्, चीनबाट चलेका छन्, के भनेनन् ! अझपछि भने बिढङ्गो गर्छन्, समाप्त हुन्छन्, प्रभाकरणजस्तो बन्छन् !

तर आज तपाईंले भनेको पनि भन्दैछन् । हेर्नुस् त यिनको अनुहार कति मजाकलाग्दो, टीठलाग्दो र घृणास्पद छ ! यो त जनता आफैँले बुझिसकेका छन् नि ! अनि प्रचण्डले आफ्नो नक्कल गर्न खोजेको भनेको मैले पनि सुनेँ । हैन यो के बिजोग हो, के उट्पट्याङर प्रहसन हो ! जसको धोती फुस्केर बेहाल छ, उनको नक्कल हास्यव्यङ्ग्यका लागि मनोज गजुरेलबाहेक अरूले कसले गर्ला र !

जहाँसम्म वर्गसङ्घर्ष, राजनीतिक सङ्घर्ष, देशको स्वाधीनताको लडाइँ, जनताको जीवनलाई गर्ने परिवर्तन, कम्युनिस्ट आन्दोलनलाई क्रान्तिमा सोझ्याउने विषय, वैज्ञानिक समाजवाद—साम्यवादका लागि सङ्घर्ष गर्ने विषय कम्युनिस्टको आधारभूत विचार र आदर्श हो । प्रचण्ड केही समय बाँदर राजाजस्तो झुल्किएर र उल्काजस्तो बिलाए । उनले हो क्रान्तिकारी वर्ग र बलिदानको आडमा क्रान्तिको नक्कल गरेको तर वैज्ञानिक समाजवादको मार्ग र कसी यस्तो छ जसले नक्कलीहरूलाई वर्षाको भेलले छाल लगाइदिएजस्तो लगाइदिन्छ । उनी हो नक्कलबाट नायक बन्न खोज्दा समाप्त भएको । हामी वैज्ञानिक समाजवाद—साम्यवादको आदर्शमा समर्पित छौँ र यो सफल भइछाड्नेछ ।

लड्न सकिन्छ र भन्या’ यत्रा सेना, प्रहरी अनि काङ्ग्रेस, वामपन्थी तागत तपाईंको राजनीतिक लक्ष्यविरुद्ध एक छन् । राज्यसंयन्त्र पूरै विपक्षमा छ ?

होइन, तपाईंलाई पनि केही भ्रम छजस्तो लाग्यो । यो भीमसेनको गदाको लडाइँजस्तो देखिएजतिसँग एकमेसै लड्ने भनेको होइन नि। तपाईंले भनेजस्तो सबै मान्छेहरू लगाम लगाएका टाँगाजस्ता पनि त छैनन् । यो २१औँ शताब्दी हो र नेपाली जनता देशले भोगेका र जनताले झेलेका सारा समस्या र सङ्कटका साक्षी हुन् । देशको कुनै सेना—प्रहरी केवल सरकारका साधन मात्र होइनन्, जनताका छोराछोरी र नागरिक पनि हुन् । उनीहरूलाई राम्रोसँग थाहा छ देशको अवस्था र बेथितिहरूबारे ।

हामीले साफ गर्ने र फाल्ने भनेको त दलाल पुँजीपति, सुदखोर, भ्रष्टाचारी, तस्कर, ठग, राजनीतिको रङमा देश लुट्न हिँडेका बोकसवादीहरूलाई न हो । यी तत्वहरूलाई फाल्दा सेना र प्रहरीहरू हामीसँग किन लड्ने? उनीहरूको आदेशलाई कहिलेसम्म आँखा चिम्लेर पालना गर्ने ! हाम्रो विचारमा यो हुनेछैन । असल देशभक्त, राष्ट्रवादी, इमानदार सेना, प्रहरी र कर्मचारीहरूले पनि हामीलाई साथ दिनेछन् । त्यसैले त हामीले भनेका पनि छौँ यसपटकको मोर्चा भनेको दलाल र देशभक्त, लुटेरा र श्रमिक जनता, भ्रष्ट र इमानदार, फासिवादी र जनवादीबीचको सङ्घर्ष हो । यसमा सेना पुलिसले पनि विचार गर्नुपर्छ । हाम्रो विचारमा यस्तो हुँदै गएको पनि आभास आउँछ ।

भारत र चीनको पछिल्लो भूमिका तथा नेपालबारे उनीहरूको दृष्टिकोणलाई तपाईंले कसरी लिनुभएको छ ?

चीन र भारत दुवै आजको विश्वमा उदीयमान राष्ट्र हुन् । पुँजीको दबदबा भएको विश्वमा उनीहरू अगाडि आउँदैछन् । व्यापार युद्धको रणनीति सारमा सैन्य राजनीतिक सङ्घर्ष नै हो । जसले नयाँ हेरफेर नल्याएमा केही वर्षपछि उनीहरू अगाडि आउँदैछन् भन्ने अर्थविद्हरूको विश्लेषण छ । उनीहरूको नेपालप्रतिको दृष्टिकोण यसैद्वारा निर्देशित हुन्छ र छ ।

हामी २१औँ शताब्दीमा पराधीन, पछौटे, उत्पीडित जीवन भोगिरहेका छौँ । नेपाली जनताले यस्तो जीवनको अन्त्य लामो समयदेखि चाहना राख्दै आएका छन् । हाम्रो पार्टीले जनचाहनाअनुरूप निर्णायक परिवर्तनको आवश्यकताबोध गरेको छ । छिमेकीहरूले यसलाई स्वीकार गर्नुपर्छ ।

सरकारसँग वार्ता र सम्झौताको सम्भावनाचाहिँ के छ ?

हरेक विद्रोह र क्रान्ति वार्ताकै उच्चतम् रूप हुन् । जनता र देशका मुद्दाहरूले नै जनता र पार्टीलाई टेबुलबाट सडक, सडकबाट प्रतिरोध र प्रतिरोधबाट सशस्त्र क्रान्तिमा लैजान्छन् ।राज्यले जनयुद्धबाट वार्तामा आउँदा ०६४ पछि गरेको बेइमानी दोहोर्याउँदैन र जनताका मुद्दालाई इमानदारीपूर्वक आत्मसाथ गर्छ भने हामी किन तर्किन्छौँ र ?

वार्ताका लागि के गर्नुपर्छ ? तपाईंहरूको क्रान्ति वार्ताहीन हो र ?

क्रान्ति भनेको पुरानोको ध्वंस र नयाँको निर्माण हो । जनविरोधी राज्यको रूपान्तरण हो । हाम्रो देशको सन्दर्भमा दलाल पुँजीवादी सत्ताको अन्त्य र वैज्ञानिक समाजवादको स्थापना हो । यो वार्ताहीन हुन्छ कहाँ भनेका छौँ र ?

कतिपय पक्ष तपाईंलाई पूर्वराजा र चीन तथा भारतसँग जोडेर सत्ता निकटका मानिस भनेर पनि चर्चा गर्छन् नि ?

हो, एउटा समय यस्तो थियो । मैले माथि नै चर्चा गरेँ । समयले सबै भ्रम प्रचारलाई साफ पारिदिएको छ । अहिले यसको चर्चा छैन । कसैको दिमागमा केही छ भने पनि उसलाई बेरोजगारीको खाडलमा सडिरहेको जीवनभित्र घोत्लिन र सक्रिय हुन मद्दतै गर्छ । चिन्ता लिनु पर्दैन । हामी

वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिको मार्गमा छौँ । यसले नेपाली जनताको मन जित्दै सफलता चुम्नेछ ।
पर्टीको तत्कालीन र दीर्घकालीन कार्यक्रम?

देशको सत्ता रातारात टुप्पाबाट पलाएको दलाल पुँजीपतिवर्गको हातमा छ । सरकार कथित कम्युनिस्टको सामाजिक दलाल पुँजीवादी पार्टीको छ । यसले देशप्रति घात गर्दै, जनताप्रति घात गर्दै जनताको जीवन थेग्न नसक्ने गरी भ्रष्टाचार, तस्करी, महँगी, असुरक्षा, मानव तस्करी, गुलामी बढाइरहेको छ । त्यसको विरोध गर्दा हाम्रो पार्टीमाथि प्रतिबन्ध थोपरिएको छ । त्यस्तै सबैमाथि फासिवादी दमन भइरहेको छ ।
हामी केपी–प्रचण्डको यो भ्रष्ट एवम् राष्ट्रघाती बेथिति र फासिवादी दमनकाविरुद्ध सबै कम्युनिस्ट, देशभक्त, लोकतान्त्रिक शक्ति, बुद्धिजीवी, विश्लेषक, नागरिक व्यक्तित्व, साहित्यकार, कलाकार, उद्योगी–व्यवसायीसँग हातेमालो गर्न चाहन्छौँ । यो दलाल पुँजीवादी सत्तालाई मिल्काएर नेपालमा पुँजीवादभन्दा बिलकुलै नयाँ र जनवादी वैज्ञानिक समाजवाद स्थापना गर्न चाहन्छौँ ।

अन्तर्राष्ट्रिय वातावारण तपाईंको अनुकूलको छैन । रणनीतिमा परिवर्तन जरुरी ठान्नुहुन्न ?

कुनै पनि राजनीतिको प्रधानपक्ष राष्ट्रिय परिस्थिति हो । हामी उत्पीडित छौँ, हेपिएका र दमित छौँ । हामीमाथि असमान सन्धिसम्झौता थोपरिएका छन् । हाम्रा जनताको जीवन कष्टकर छ । हामी यसलाई फेर्न चाहन्छौँ भने अन्तराष्ट्रले सहयोग गर्नुपर्छ । आजसम्म आफ्नोभन्दा विदेशीको मुख ताक्दा र मागन्ते तरिका प्रयोग गर्नाले त यो अवस्था बनेको हो ।

तपाईंले भनेको रणनीतिक परिवर्तन सायद वैज्ञानिक समाजवादी क्रान्ति छोडेर संसदीय व्यवस्थामा आउने भन्न खोज्नुभएको होला, त्यो गलत हुन्छ । हरेक आन्दोलन र क्रान्तिलाई संसदीय पुँजीवादी व्यवस्थामा हुल्दा त हाम्रो देशले यो अवस्था भोग्नुपरेको हो । संसद्बाट संसद्, पुँजीवादबाट पुँजीवाद, दलाल पुँजीवादबाट दलाल पुँजीवादमा घुमेर हाम्रा जनताको अवस्थामा परिवर्तन सम्भव छैन । जुन वस्तु समस्या हो त्यसैमा फर्किने रणनीति बनाउनु हुँदैन । समाधान गर्ने रणनीतिलाई छोड्नु हुँदैन । बरु सबै मिलेर एकपटक वैज्ञानिक समाजवाद निर्माण गरौँ ।

केही मानिस तपाईं र प्रचण्डबीचको हिमचिमको पनि कुरा गर्छन् नि?

हाम्रा साथीहरूसँगको भेटघाटमा प्रचण्डजीले ‘हुन्छ भने म पनि वैज्ञानिक समाजवादी क्रान्तिकापक्षमा छु’ भन्ने गरेको कुरा मैले सुनेको छु ।

अरू पार्टीपङ्क्ति र समूहसँग एकता र कार्यगत एकताका पनि कुरा छन् कि ?

ठीक भन्नुभयो । हाम्रो पार्टीसँग अन्य क्रान्तिकारी कम्युनिस्ट पार्टी, देशभक्त शक्ति, लोकतन्त्रवादी मित्र, बुद्धिजीवी, साहित्यकार, कलाकार व्यक्तित्वहरूसँग भिन्न विषयमा छलफल हुने गरेको छ । देश र जनताको हितका विषयमा भएका छलफल निकै उत्साहपूर्ण र विश्वासिला खालका छन् । हामीलाई त्यसले निकै उत्साहित पारिरहेको छ । पार्टीमाथि प्रतिबन्ध लगाउँदा जसरी कमरेड र मित्रहरूले सत्यका पक्षमा दृढतापूर्वक उभिँदै प्रतिबन्धका विरुद्ध बोल्ने साहस गर्नुभएको छ, त्यो अतुलनीय छ ।

पार्टी एकताका लागि कमरेड किरण, कमरेड ऋषिकट्टेल, कमरेड गोपाल खम्बुलगायतसँग छलफल चलिरहन्छ । अनि सरकारी नेकपाभित्रकै केही साथीहरूसँग कुरा भइरहेकै छ । कैयौँ देशभक्त शक्तिर नेपाली काङ्ग्रेसभित्रका पनि लोकतन्त्रवादीहरूसँग सहकार्य भइरहेको छ । देशलाई माया गर्ने पूर्वजनरल र आईजी, एआईजी, डीआईजीहरूको सद्भावलाई विनम्रतापूर्वक ग्रहण गरेका छौँ । त्यस्तै नेपालका लागि नेपाली भन्ने अभियानका मित्रहरू डा.सुरेन्द्र केसी, नायिका रेखा थापा, नरबहादुर कार्कीहरूको भूमिकालाई हामीले स्वागतयोग्य ठानेका छौँ ।

तपाईं भूमिगत किअर्धभूमिगत ? स्वदेश माकि विदेशमा? प्रचण्ड नेतृत्व समयकै जस्तो त होइन ?

जनतासँग बस्ने र बिताउने समय कति सुखद र आनन्दमय हुन्छ त्यो प्राप्त गर्ने सौभाग्य हामीलाई मिलेको छ । राज्यसँगको लुकामारीको त झन् कुरै नगरौँ । मैले कोरेको छु :

मेरो रगत बग्यो भने यही पवित्र माटोमा मिलोस्
शरीर ढल्यो भने प्रिय सहिद—सपूतहरूसँगै सुतोस् !
नलागोस् खोट, आदर्श बाँचिरहोस्
खपेर सारा चोट सपना चम्किरहोस् !

साभार : राजनीति डट कम बाट