क्षुद्रग्रह र ऐस्टेरायडमा ठूलो भिन्नता हुन्छ

आजको युगमा इन्टरनेटबिनाको जीवनबारे कल्पना गर्नु सहज छैन । हातमा बोकेको एउटा मोबाइलले मात्र जो कोहीलाई विश्व नागरिकको दर्जा र हैसियतमा पदोन्नति गरिदिन्छ ।

तपाईंलाई विश्वास गर्न गाह्रो लागेपनि यो सत्य हो । इन्टरनेटको आकाशी संसार वास्तविक संसारभन्दा भीमकाय, रोमाञ्चक, ज्ञानवद्र्धक (लगायत तपाईंलाई जे उपमा, उपनाम र विशेषण थप्न मन लाग्छ) भइसकेको छ । र यो त ‘ट्रेलर’ मात्र हो, पूरा फिल्म आउनै बाँकी छ मित्र हो ।

विवेचनमा नगई लेखको विषयवस्तुमै प्रवेश गर्ने मानसिक हतारोपनाले तपाईंलाई लाग्न गएको खल्लोपना र क्रमभंगताको लागि क्षमायाचना गर्दै गफको क्रम घिसार्ने चेष्टा गर्छु ।

भर्खरै नेपाली मिडियामा समाचार आयो ‘पृथ्वी नजिक भएर जाँदैछ एउटा क्षुद्रग्रह ।’

विज्ञानको जो कोही विद्यार्थीलाई पनि ‘पृथ्वी नजिकबाट भएर जाने’ त्यस पिण्डलाई क्षुद्रग्रह भनिएकोमा अचम्म लाग्यो होला ।

खगोलविद्हरुले हाम्रो सौर्यमण्डलमा रहेका यावत पिण्डलाई त्यसको प्रकृति, प्रवृत्ति, आकार–प्रकार र संरचनात्मक गुण धर्मका आधारमा फरक–फरक नामाकरण गरेका छन् ।