गणतन्त्र, सुशासन नयाँ राष्ट्रिय एकता

मार्क्सवादीहरू प्रत्येकलाई अवगत हुनुपर्छ, फेब्रुअरी १९१७ मा स्थापित रुसको गणतन्त्र र १९११ मा स्थापित चीनको गणतन्त्र पुँजीवादी अर्थात् लोकतान्त्रिक गणतन्त्र थियो । परन्तु, उत्पीडित वर्ग विरोधी केरेन्स्कीका कारण लेनिनले र राष्ट्रियता विरोधी च्याङ काई सेकका कारण माओले राजतन्त्र फर्काउने प्रतिगामी मूर्खता गरेनन् । बरु पुँजीवादी गणतन्त्रलाई क्रान्तिकारी सङ्घर्षद्वारा समाजवादी गणतन्त्रमा बदल्ने ऐतिहासिक भूमिका निर्वाह गरे । यस तथ्यको आधारमा मात्र कुनै पनि सच्चा मार्क्सवादीले विद्यमान नेपाली गणतन्त्रबारे सोच्न सक्छन् ।
महान जनयुद्ध र जनआन्दोलनको बलमा स्थापित नेपालको लोकतान्त्रिक गणतन्त्रबारे खड्ग ओली सरकारका ज्यादतीहरू माथि विप्लव नेकपाको नकारात्मक रवैया चिन्ताको विषय बनेका छन् । यसैबेला बौद्धिक भनिनेहरू राजतन्त्र फर्काउने प्रचारमा देखिनु शान्ति र अग्रगमनको सेवा हुन सक्दैन । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने अतीतमुखी उद्योगले नेपालको राष्ट्रियता, जनवाद र जनजीविकाको प्रश्नलाई अझ चौपट मात्र तुल्याउँछ ।

साम्यवादीका निमित्त संसदीय प्रजातन्त्र रणनीतिक दृष्टिले प्रतिगामी व्यवस्था हो । परन्तु कार्यनीतिक दृष्टिले राणाशासनभन्दा त्यो प्रगतिशील थियो । त्यस्तै, सामन्ती राजतन्त्रभन्दा पुँजीवादी गणतन्त्र स्वतः प्रगतिशील ठहर्छ । ३० वर्षीय राजतन्त्रात्मक निर्दलीय शासनमा नागरिक तथा वाक स्वतन्त्रताको हविगत के थियो र ०४६ तथा माओवादी कम्युनिस्ट आन्दोलन बढ्दै गणतन्त्र घोषणाको समय के भयो भन्ने कुरामा नेपाली जनता प्रस्ट रहनुपर्छ ।

१२औँ गणतन्त्र दिवसको अवसरमा विप्लव नेकपा निकट एक साथीले फोन गरेर भने– ‘तपाईंकै छिमेकी तीर्थराज घिमिरेलाई मार्ने गणतन्त्र दिवस मनाइन्न ।’ जवाफमा हामीले भन्यौँ– त्यसो भए २००८ मा विद्यार्थी नेता चिनियाँकाजीलाई मार्ने प्रजातन्त्रलाई महेन्द्रले ठेगान लगाएर ठीक गरे, हो ? प्रष्ट छ, खड्ग ओली र प्रचण्डको रिसले गणतन्त्रलाई अचानो बनार वैज्ञानिक समाजवाद आउँदैन । लेनिन र माओवादलाई गुरु मानेको हो भने यो कुरा साथीहरूले स्वीकार गर्ने पर्छ ।